राजावादीको आन्दोलनलाई हल्कारुपमा नलिऔं–राजमो अध्यक्ष केसी


‘सरकारका गलत,जनविरोधी र भ्रष्ट नीतिका कारण राजावादीहरुलाई मद्दत पुग्यो’

बुटवल,१८ मंसिर ।
राष्ट्रिय जनमोर्चाले अहिले देशभर चलिरहेको राजावादीको आन्दोलनलाई हल्कारुपमा लिन नहुने बताएको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बुधबार एक विज्ञप्ति जारी गरी राजावादीहरुको अहिले देशमा बढिरहेको गतिविधिलाई हल्कारुपमा लिन नहुने बताउनु भएको हो ।
राजावादीहरुको अहिले देशमा बढिरहेको गतिविधिलाई हल्कारुपमा लिनु अदूरदर्शीता हुने विज्ञप्तिमा जनाइएको छ ।

त्यसप्रकारका गतिविधिका विरुद्ध तथा गणतन्त्र र धर्म निरपेक्षता समेतको रक्षाको लागि सबै गणतन्त्र पक्षधर शक्तिहरुको ऐक्यबद्धता आजको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको अध्यक्ष केसीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजावादी र हिन्दूवादी संस्थाहरुले बहुदलीय व्यवस्थाका विरुद्धमा २०१७ सालमा पनि त्यही प्रकारका गतिविधिहरु संचालन गरेको उल्लेख गर्दै केसीले जसको परिणामस्वरुप २०१७ पौष १ गतेको काण्ड घटेको र त्यसका विरुद्ध नेपाली जनताले ३० वर्ष लामो संघर्ष गर्नु परेको विज्ञप्तिमा जनाउनु भएको छ ।

यस्तै २०४६ सालपछि प्राप्त बहुदलीय व्यवस्थालाई समाप्त पार्न राजावादीहरुले गतिविधि बढाएको र ०५९ माघ १९ गते शाहीकाल घोषणा भएको पनि केसीले स्मरण गराउनु भएको छ ।

त्यस प्रकारको पृष्ठभूमिमा विभिन्न व्यानरमा राजावादीहरुको अहिले देशमा बढिरहेको गतिविधिलाई हल्कारुपमा लिनु अदूरदर्शीता हुने उल्लेख गर्दै केसीले अन्यथा पौष १ गते र माघ १९ गतेको नियति दोहोरिन सक्ने चेतावनी समेत दिनु भएको छ ।

वर्तमान सरकारका गलत, जनविरोधी र भ्रष्ट नीति तथा क्रियाकलापहरुबाट जनतामा सरकारप्रति पैदा भएको असन्तोष र अविश्वासबाट अहिले राजावादीहरुलाई आफ्ना गतिविधिहरु अगाडि बढाउन मद्दत पुगिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

You might also like