नेकपा कार्यकर्ता र प्रशासनको अबरोधका कारण रोकिएको पुल शक्ति प्रदर्शनसहित पौडेलद्वारा उद्घाटन
तनहुँ,१८ मंसिर ।
स्थानीय प्रशासन र नेकपाका कार्यकर्ताको अवरोधका कारण बुधबार रोकिएको तनहुँको बुल्दीखोला पुलको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज (विहीबार) उद्घाटन गर्नुभएको छ ।
बुधबार नेकपाका कार्यकर्ताको अवरोध र स्थानीय प्रशासनको निषेधाज्ञाका कारण रोकिएको पुलको पौडेलले आज रिबन काटेर पुल उद्घाटन गर्नुभएको हो ।
काँग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार पुलको उद्घाटन गरेको हो ।
पुर्व मन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी,गोविन्द भट्टराई, प्रदीप पौडेललगायत पनि पुल उद्घाटन कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलगायत सांसदहरुको पनि सहभागीता रहेको थियो । पुल उद्घाटन अघि जिल्ला पार्टी कार्यालय दमौलीबाट जुलुस निकालिएको थियो । काँग्रेसले आज जिल्लाभरका नेता कार्यकर्तालाई पुल उद्घाटन क्षेत्रमा उतारेको थियो ।
कार्यक्रममा पौडेलले घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो ।
पौडेलले भन्नुभयो, ’आज तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्नबाट प्रशासन पछि हटेको प्रष्ट छ ।’ लोकतान्त्रिक मुल्य र मान्यता विपरीत नेपाली जनता, नेपाली कांग्रेसमाथिको घोर अपमान र अत्याचारप्रति खेद प्रकट गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द हाम्रो आन्दोलन जारी रहन्छ ।’
वरिष्ठ नेता पौडेल र नेकपा संघीय सांसद किसान श्रेष्ठ बीचको टकरावले पुल उद्घाटनका विषयमा विवाद भएको थियो ।
पूर्वाधार विकास कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो ।
उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा संघले सोही पुलमा बुधबार बिहान विरोधसभा आयोजना गरेको थियो ।
दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
निषेधाज्ञा उल्लंघन गरेको भन्दै दिउँसो पक्राउ गरिएका नेता पौडेललाई साझ रिहा गरिएको थियो ।
पौडेलको गिरफ्तारीको चौतर्फी बिरोध भएको थियो ।
पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
उनीहरूले प्रधानमन्त्री केपी ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका थिए ।