२४ घण्टामा थप १ हजार ३४३ जनामा कोरोना संक्रमण, २ हजार १११ जना डिस्चार्ज

बुटवल,१८ मंसिर ।
नेपालमा बिहीबार थप १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार २ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म २ लाख २० हजार २ सय ७२ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । हालसम्म नेपालमा १ हजार ५ सय ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

देशभर हाल १५ हजार ७ सय ६६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ ।

नेपालमा कोरोना संक्रमित निको हुने दर ९२.७ प्रतिशत रहेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, झापा र मोरङमा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने मनाङ र डोल्पामा शून्य संक्रमित रहेका छन् ।

You might also like