दाङका दुईजना कोरोना संक्रमितको बाँकेमा मृत्यु

बुटवल,१९ मंसिर ।
दाङका थप दुईजना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुष रहेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ४ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका तुलसीपुरका ४५ वर्षीय पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएका तुलसीपुरकै ८१ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार राति १०ः४५ बजे मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

यससँगै दाङमा कोरोना संक्रमित मृतकको संख्या ३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय लुम्बिनीले जनाएको छ ।

You might also like