नेकपा बिवाद ः राष्ट्रपतिको अस्वभाविक सक्रियता, राष्ट्रपतिसँग ओली र प्रचण्डद्धारा छुट्टाछुट्टै भेटवार्ता

बुटवल,१९ मंसिर ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीको अस्वभाविक सक्रियता बढेको छ ।

पार्टी भित्रको आन्तरिक बिवादमा शीतलनिवासले अस्वभाविक रुपमा चासो देखाएको हो ।

सत्तारुढ दल नेकपा भित्र बिवाद बढ्दै जादा पार्टीका शिर्श नेताहरुलाई भेटेर समझदारीको प्रयास गर्दै आएकी राष्ट्रपति भण्डारीले विहीबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवासमा बेग्लाबेग्लै भेट गरेकी हुन् ।

भेटमा राष्ट्रपतिले दुबै अध्यक्षलाई विवाद नगर्न र मिलेर अघि बढ्न सुझाव दिएको बताइएको ।

नेकपा विवाद उत्कर्षमा रहेका बेला राष्ट्रपति भण्डारीसँग नेताहरुको भेटवार्ता हुने गरेको छ । गएको आठ महिना यताको नेकपा विवादमा राष्ट्रपति भण्डारीसँग नेकपा नेताहरुको भेटवार्ता बाक्लो हुने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । करिब डेढ घण्टा राष्ट्रपतिसँग भएको भेटमा सरकारी कामकाजका विषयमा कुराकानी भएको बताइए पनि पार्टीको अन्तरविरोधका विषयमा समेत कुरा भएको बताइएको छ ।

प्रधानमन्त्री ओली शीतलनिवासबाट फर्केपछि अपरान्ह प्रचण्ड राष्ट्रपतिलाई भेट्न पुगेका थिए ।

ओली फर्किएलगत्तै प्रचण्ड शीतलनिवास पुग्नुलाई चासोका साथ हेरिएको छ । प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले पार्टीका नेताहरु आपसमा मिलेर अघि बढ्न आग्रह गरेको बताइएको छ ।

राष्ट्रपति जस्तो गरिमामय संस्था पटक÷पटक कुनै एक पार्टी भित्रको आन्तरिक बिवादमा चासो लिनुले संस्थाको गरिमा र स्वतन्त्रतामाथीनै आँच आउने जानकारहरु बताउछन् ।

सत्तारुढ दल नेकपा मात्र नभएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,जसपा,राप्रपा दगायतका दलहरुमा पनि पटक÷पटक बिभिन्न किसिमका बिवाद हुदै आएको छ ।

अन्य पार्टीमा हुने बिवादमा चासो नराख्ने राष्ट्रपतिले यसअघि आफु संलग्न पार्टी नेकपा भित्रको आन्तरिक बिवादमा अस्वभाविक चासो राख्नु राष्ट्रपति दलीय स्वार्थबाट माथि उठ्न नसकेको राजनीतिक बिष्लेषकहरुको टिप्पणी छ ।

कुनै एक दलमा संलग्न भएर योगदान दिएकै व्यक्ति राष्ट्रपति हुने हो । अर्थात बहुमत प्राप्त दलको तर्फबाट राष्ट्रपति निर्वाचीत हुने हो । तर,राष्ट्रपति निर्वाचित भएसँगै दलीय आवद्धता नरहने व्यवस्थाका बाबजुद राष्ट्रपतिले यसअघि आफु संलग्न दलप्रति बढीनै चासो राख्नु राष्ट्रपति पदको गरिमा र स्वतन्त्र संस्थाप्रतिको सम्मानमानै आँच आउने बिष्लेषकहरु बताउछन् ।

You might also like