हुम्लामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ जना घाइते

सुर्खेत,२० मंसिर ।
हुम्लाको सिमकोटमा भएको जिप दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

जिल्लाको सिमकोट गाउँपालिका–७, ओख्रेनीमा शुक्रबार राति लु २ च २१०२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७, का ३० वर्षीय पर्वत सुनार, सिमकोट–२, का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्काकी ४५ वर्षीया डुकी तामाङ र उनका श्रीमान ४८ वर्षीय गुरु तामाङ रहेका छन् ।
सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप सिमकोट फर्किने क्रममा गएराति करिब ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा सिमकोट–२, ठेहेका जिप चालक सम्राट भण्डारी, प्युठान स्थायी घर भई सिमकोट–६ बस्दै आएका अजय बस्नेत, सिमकोट–८ खोल्सीकी कल्पना सिंह, सोही ठाउँका एक वर्षीय बालक मिलन सिंह, सम्झना शाही, नाम्खा गाउँपालिका–१ की झुमझुम लामा र सिमकोट बजार बस्दै आएका बाजुराका कवि सिंह रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

जिप सडकभन्दा करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
राति ११ बजे जीप दुर्घटना भएको जानकारी पाएलगत्तै सदरमुकामबाट जिप र ट्याक्टरमा उद्धार टोली पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाउको छ । राति १२ बजे घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको थियो ।
जिप दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

You might also like