चुनावमा बढीनै आश्वासन दिएका कारण अहिले जनतामा असन्तुष्टि–राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना


असन्तुष्टि पैदा हुनु स्वभाविक भए पनि निरास हुनुपर्ने अवस्था छैन

बुटवल,२० मंसिर ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले चुनावका बेला जनतालाई बढीनै आश्वासन दिएका कारण जनतामा अहिले असन्तुष्टि बढेको बताउनु भएको छ ।

चुनाव जित्नका लागि उम्मेदवारहरुले जनतालाई अलि बढिनै आश्वासन दिने काम भएको र जनप्रतिनिधिहरुले जनतालाई दिएका आश्वासन पुरा नभएका कारण अहिले जनतामा असन्तुष्टि बढेको उहाँको भनाई छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाद्धारा शुक्रबार लुम्बिनीमा आयोजित लुम्बिनी वरीपरीका पालिकाको विकासमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा समन्वय सहकार्य बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा भएको पछिल्लो राजनीतिक परिवर्तनपछि जनताका अपेक्षा पुरा हुन नसके पनि निरास हुनुपर्ने अवस्था भने नभएको बताउनु भयो ।

राजनीतिक परिवर्तन पछि जनताले ठूलो अपेक्षा गरेको र जनतामा अपेक्षा जगाउने काम पनि राजनीतिक दलबाटै भएको भन्दै अध्यक्ष तिमिल्सिनाले आफुले राखेका अपेक्षा पुरा नहुँदा जनतामा असन्तुष्टि बढ्नु स्वभाविकै भए पनि निरासै हुनुपर्ने अवस्था भने नभएको बिचार व्यक्त गर्नुभयो ।

पछिल्लो ३ बर्षको अवधिमा मुलुकको विकासको जग बसाल्ने काम भएको भन्दै आगामि दिनमा विकासले थप गति लिने उहाँको विस्वास छ ।

पर्यटन मुलुकको समृद्धिको महत्वपूर्ण आधार भएको भन्दै अध्यक्ष तिमिल्सिनाले लुम्बिनीसँगै लुम्बिनीसँग सम्बन्धित पालिकाहरुलाई समेटेर एकिकृत बृहद लुम्बिनी विकास गुरुयोजना बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा.सुर्य प्रसाद पाठकले अन्य मुलुकहरुसँग जस्तो प्रसस्त रकम नभए पनि हामिसँग द्धन्दलाई शान्तिमा बदल्ने बुद्धको अहिंसा र शान्तिको दर्शन र फिलोसपी रहेको भन्दै विश्वमा बुद्धको सन्देश फैलाउन जरुरी रहेको बताउनु भयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्री,रामग्राम नगरपालिका नवलपरासीका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता,गैडहवा गाउपालिका रुपन्देहीका अध्यक्ष बच्चुलाल केवट,मायादेवी गाउपालिका रुपन्देहीका अध्यक्ष धु्रब नारायण चौधरी,कपिलवस्तु सुद्धोधन गाउपालिकाका अध्यक्ष निसार अहमद खाँ,नवलपरासी सुस्ता गाउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे,लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रेग्मी,उप सचिव कूल प्रसाद खनाल,कपिलवस्तुको कपिलवस्तु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरी ज्ञवाली,लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनका उपाध्यक्ष गोविन्द सुबेदी,सदस्य ई.सूरक्षा पन्त,कृषि विकास बैंक बुटवल शाखा प्रबन्धक सीमा वन,पत्रकार बिन्दु कुमार चौहान लगायतले लुम्बिनीलाई पर्खाल भित्र सिमित गर्न नहुने भन्दै लुम्बिनी वरीपरीका पालिका तथा लुम्बिनी र बुद्धसँग सम्बन्धित पालिकाहरुलाई समेटेर बृहद लुम्बिनी गुरुयोजना बनाएर विकास गर्नुपर्नेमा जोड दिनु भयो ।

You might also like