बुटवल स्थित कोरोना अस्पतालको आईसीयूबाटै सुनका गहना चोरी

बुटवल,२० मंसिर ।
बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आईसीयूबाटै एक महिलाको सुनको गहना चोरी भएको छ ।

बुटवल–७ शिवनगरकी ४८ वर्षीया कोरोना संक्रमित महिलाको कानमा लगाएको दुई वटा रिङ र नाकमा लगाएको फुली चोरी भएको परिवारका सदस्यले बताएका छन् ।

मंसिर १४ गते अस्पतालको आईसीयू कक्षमा भर्ना भई १५ गते बिहान उपचारका क्रममा मृत्यु भएकी उनको एक तोला बराबरको सुनका गहना चोरी भएको परिवारका सदस्यले गुनासो गरे ।

संक्रमितको मृत्यु भएपछि अस्पतालका कर्मचारीले मोबाइल, थर्मस लगायत सामान दिएपनि गहना नपाएपछि परिवारका सदस्यले खोजी गरेका थिए ।

मृत्युको खबर पाएर आफुहरु जाँदा शवलाई मर्करीमा राखिसकेको गहनाको कुरा गरेपछि शव खोलेर हेर्दा फुली लगाएको नाकको भागमा रगत निस्केको देखिएको मृतकका छोरा प्रदीप अर्यालले जानकारी दिनु भयो ।

गहना हराएकोबारे अस्पतालका फोकल पर्सन, वडा प्रहरी र बुटवलका मेयरलाई पनि जानकारी गराउदा खोजी गर्छौं भनेको तर त्यसपछि सम्पर्क गभएको अर्यालले बताउनु भयो ।

चोरी भएको गहना पत्ता लगाएर दिने आशा गरेको तर एक हप्तासम्म नदिएपछि अरु बिरामीको गहना नहराओस् भन्ने उद्देश्यले घटना सार्वजनिक गर्नुपरेको मृतकका छिमेकी गुप्तबहादुर केसीले बताउनु भयो ।

सो अस्पतालबाट यसअघि पनि बुटवलकै एक पुरुषको बेरुवा औंठी चोरी भएको गुनासो आएको केसीले जानकारी दिनु भयो ।

अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले गहना चोरी भएको गुनासो आएको स्वीकार्दै खोजी भइरहेको प्रतिक्रिया दिनु भयो ।

You might also like