नेकपा बैठक ःदुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय

दुवै प्रस्ताव थाती राखेर साझा प्रस्ताव बनाउने ओली समूहको प्रस्ताव दाहाल–नेपाल समूहद्धारा अस्वीकार
काठमाडौँ,२० मंसिर ।
सत्तारुढ दल नेकपाको सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्ने निर्णय गर्दै सकिएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा शनिबार बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने र त्यहींबाट पार्टीमा देखिएको संकट समाधान गर्ने निर्णय भएको जानकारी दिनु भयो ।
आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

कात्तिक २८ मा दाहालद्वारा प्रस्तुत १९ पृष्ठ प्रस्ताव र त्यसको जवाफमा ओलीले मंसिर १३ मा प्रस्तुत गरेको ३८ पृष्ठ लामो प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएको हो ।

ओलीले दाहालको प्रस्ताव आरोपपत्र भएको भन्दै फिर्ता लिनुपर्ने अडान राख्नु भएको थियो ।

तर, सचिवालयका बहुमत सदस्यले दुवै प्रस्ताव छलफलमा गइसकेको भन्दै स्थायी कमिटीमा लगेर छलफल गर्ने अडान लिएका हुन् ।

दुवै प्रस्ताव थाती राखेर साझा प्रस्ताव बनाउने ओली समूहको प्रस्ताव दाहाल–नेपाल समूहले अस्वीकार गरेको थियो ।

You might also like