काभ्रे र काठमाण्डौमा भएको छुट्टा छुट्टै दुर्घटनामा दुई तीन जनाको मृत्यु

बुटवल,२२ मंसिर ।
काभ्रेको बनेपा र काठमाण्डौको बानेश्वरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
बनेपामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

बनेपाबाट धुलिखेल जाँदै गरेको ना १२ प ७४२९ नम्बर र प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकलको पछाडि बस्ने सिन्धुपाल्चोक चौताराका २८ वर्षका हरिकृष्ण बस्नेत र ना १२ प ७४२९ नम्बरको मोटरसाइकल चालक धुलिखेल ६ का २० वर्षका सत्यमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनिहरुको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । घाइते तीन जनाको पनि धुलिखेल अस्पतालमा नै उपचार भइरहेको छ ।

काठमाण्डौको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक यात्रुको मृत्यु भएको छ ।

बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाण्डौ आलोकनगर बस्ने ७० वर्षका लोकनाथ धितालको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

धितालको उपचारका क्रममा सिभिल अस्पतालमा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

You might also like