सुत्केरीको मृत्युपछि आफन्तहरुद्धारा रुपन्देहीको देवदह मेडिकल कलेजमा प्रदर्शन

बुटवल,२२ मंसिर ।
चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले रुपन्देहीको भलुही स्थित देवदह मेडिकल कलेज घेराउ गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका– १० की ३१ वर्षीया राधा थारुको अप्रेशन गरी बच्चा जन्माएको केही समयमा मृत्यु भएपछि घटनाको छानवीन, दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।

मंसिर १७ गते अस्पताल भर्ना भएकी थारुको शल्यक्रिया गरेर १८ गते बिहान ५ बजे शिशु जन्माइएको थियो ।

बच्चा जन्माएको चार घण्टासम्म स्वास्थ्य अवस्था राम्रो रहेको र कुराकानी पनि भएको तर एक्कासी अपरेसन गरेको ठाउँबाट रक्तश्राव हुन थालेपछि सोही दिन आईसीयूमा राखेर बिहान ११ बजे दोस्रो शल्यक्रिया गरिएको थियो ।

दोस्रो अप्रेशनपछि पनि रक्तश्राव नरोकिएपछि पाठेघर निकाल्न राति पुन तेस्रो अपरेसन गरिएको मृतककी दिदी फुलमति थारुले जानकारी दिनु भयो ।

अपरेसन गरेर जन्माएकी राधालाई १३ पिन्ट (पोका) रगत चढाइएको उहाँले बताउनु भयो । रक्त सञ्चार केन्द्रमा पटक पटक रगत लिन जँंदा यति धेरै रगत त आवश्यक नपर्ने भनेर रक्त सञ्चारका कर्मचारीले आशंका गर्दै बिरामीलाई हेर्न भनेपछि हेर्न जाँदा जिब्रो बाहिर निक्लेको अवस्थामा बहिनीलाई देखेको फुलमतिले बताउनु भयो ।

आफूहरुले सुत्केरीको मृत्यु भएको देखेर स्वास्थ्यकर्मीसँग कुरा गर्दा जीवित रहेको दावी गर्दै मुख बाहिर आएको जिब्रोलाई निप्पलले मुखभित्र धकेलेको उहाँको दाबी छ ।

मेडिकल कलेजले अपरेसनका क्रममा लापरबाही गरेका कारण सुत्केरीको मृत्यु हुन पुगेको आफन्तको दावी छ ।

लापरबाही नभएको भए तीन दिनसम्म सुत्केरीलाई हेर्न किन दिइएन भन्ने उहाँको प्रश्न छ ।
सुत्केरीको मृत्यु भएपछि पनि उपचार भइरहेको छ भनेर आफुहरुलाई ढाँटिएको आफन्तहरुको आरोप छ ।

मेडिकल कलेजले उपचारमा गम्भीर लापरबाही गरेर तीन दिनसम्म सुत्केरीको अवस्थाको यथार्थ जानकारी नदिएको मृतकका श्रामान् हिरालाल थारुले बताउनु भयो ।
आइतबार दिउँसो मात्रै मेडिकल कलेजले सुत्केरीको मृत्यु भएको घोषणा गरेको थियो । तर त्यसअघि नै शनिबार मृतकका आफन्तसँगको छलफलमा चार लाख रुपैयाँ दिन र उपचार खर्च नलिन तयार भएको हिरालालले जानकारी दिनु भयो । उपचार खर्च नलिने र चार लाख रुपैयाँ दिन्छौं भन्ने कुराले उपचारमा लापरबाही भएको पुष्टि भएको थारुको दाबी छ । सुत्केरीको उपचारमा डा.संजिव योञ्जनको टोली सहभागी भएको मेडिकल कलेजले जनाएको छ ।

मेडिकल कलेजका मेडिकल सुपेरिटेन्डेन्ट डा. बिक्रम ज्ञवालीले भने उपचारमा लापरबाही नभएको दाबी गर्नुभयो ।

You might also like