मोरङमा एक शिक्षकको गोली हानी हत्या, विप्लव समूहले हत्या गरेको आशंका

विराटनगर,२३ मंसिर ।
मोरङको मिक्लाजुङका एक शिक्षकको गोली हानी हत्या भएको छ ।

स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको मंगलबार बिहान हत्या भएको हो ।

मंगलबार बिहान करिब साढे ६ बजेको समयमा काम छ भन्दै राजेन्द्रलाई अज्ञात समूहले घरबाट लिएर गएको केही समय पछि घरदेखि करिब पाँचसय मिटर पर मृत अवस्थामा फेला परेको स्थानीयले जानकारी दिएका छन् ।

अज्ञात समूहले घरबाट लिएर गएको थाहा पाएपछि परिवारका सदस्य सहितका ४÷५ जना गाउँलेले खोजी गर्ने क्रममा घरदेखि करिब पाँचसय मिटर पश्चिमतर्फ जंगलमा विभत्स अवस्थामा उनको शव भेटिएको थियो ।

शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनु भयो ।

थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थल तर्फ जादै गरेको प्रहरी उपरीक्षक खड्काले बताउनु भयो ।

विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा शिक्षकको हत्या भएको प्रहरीको प्रारम्भिक आशंका छ ।

You might also like