सामूहिक प्रयासले मात्रै भ्रष्टाचार नियन्त्रण–सभामुख घर्ती मगर

बुटवल, २४ मंसिर ।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले सामूहिक प्रयासले मात्रै भ्रष्टाचार नियन्त्रण हुने बताउनु भएको छ ।

कसैलाई दोष दिएर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने भन्दै उहाँले सबैले आ आफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेमा जोड दिनु भयो ।

भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा ट्रान्सपरेन्सी इन्तरनेशनल नेपाल आवद्ध पारदर्शी सरोकार समूह बुटवलद्धारा बुधबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्तीले मुलुकमा भ्रष्टाचार रहेको कुरा लुकाएर नलुक्ने भन्दै बिगतदेखि मौलाउदै आएको भ्रष्टाचार पद्धतीको रुपमा विकास नहोस भन्ने कुरामा सबै सचेत हुनुपर्ने आवस्यकता औल्याउनु भयो ।

भ्रष्टाचार सामाजिक अपराध भएको भन्दै सभामुख घर्तीले भ्रष्टाचारमा संलग्न भए जोकोही पनि सजायको भागिदार हुनुपर्ने बताउनु भयो ।

बिबिध पक्षबारे समिक्षा गर्न जरुरी रहेको बताउदै उहाँले आरोपकै मात्रै र कसैलाई खुइल्याउनका लागि मात्रै लगाइने आरोपले भ्रष्टाचार नियन्त्रण हुने भन्दा पनि यथार्थतामा पुग्न नसकिने बिचार व्यक्त गर्नुभयो ।

विलासी सभामुखको रुपमा आफुलाई चित्रित गर्ने प्रयास गरिएको भन्दै सभामुख घर्तीले एउटा गाडी बिग्रिएर अर्को गाडी किनेकै भरमा आफुलाई गाडी मोहको आरोप लगाउनु पुर्वाग्रह बाहेक केही नभएको दाबी गर्नुभयो ।

आफु माननीय सभामुख नभएर साथी सभामुख भएको उहाँको दाबी थियो ।

कार्यक्रममा प्रदेशसभामा प्रमुख विपक्षी दलका सचेतक निर्मला क्षेत्री,नेकपा प्रदेशसभा संसदीय बोर्ड सचिब भोज प्रसाद श्रेष्ठ,उच्च अदालत सरकारी वकिल कार्यालय बुटवलका सह न्यायधिवक्ता मोहन सागर बस्याल, उच्च अदालत तुल्सीपूर बुटवल इजलास बार एशोसियशनका अध्यक्ष जोग बहादुर खत्री,नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सचिब ज्योती भण्डारी, लेखक ऋषी आजाद, घर बहाल सरोकार महासंघ नेपालका निवर्तमान अध्यक्ष शंकर कोइराला,बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु,उपाध्यक्ष हरी अर्याल, प्राज्ञिक विद्यार्थी परिषदका सुरेन्द्र प्रसाद यादब,पारदर्शी सरोकार समुह बुटवलका महासचिब दिपक ढकाल लगायतले राजनीतिक नेतृत्वका गलत क्रियाकलापका कारण जनतामा राजनीतिक दल र लोकतन्त्र प्रतिनै बितृष्णा पैदा भएको भन्दै नेतृत्व सच्चिनुपर्नेमा जोड दिए ।

बर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा देखाएको प्रतिवद्धाता बिपरीत भ्रष्टाचारलाई प्रश्रय दिने खालका क्रियाकलाप गर्नाले भ्रष्टाचार थप मौलाएको उनिहरुको दाबी थियो ।
पारदर्शी सरोकार समूह बुटवलका अध्यक्ष महेन्द्र पाण्डेको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा समूहका महासचिब दिपक ढकालले ट्रान्सपरेन्सी इन्टरनेशनलको काम कारबाहीको तरिका र भ्रष्टाचारमा नेपालको अवस्था बारे अवधारणा प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष लालहरी पाण्डेले कार्यक्रमको उदेस्य र औचित्यबारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा पत्रकार बिक्रम खड्काले सहजिकरण गर्नुभएको थियो ।

You might also like