‘आणविक अस्त्र चाहिँदैन,शान्ति मास्न पाईँदैन’ ः शान्ति समाज

बुटवल, २५ मंसिर ।

अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्ले कार्ड प्रदर्शन गरेको छ ।

शान्ति समाज रुपन्देहीले बिहीबार बुटवलको पुष्पलाल पार्कमा ४५ मिनेट प्रदर्शन कार्यक्रम गरेको हो । ‘आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन ।’ भन्ने मुल नारासहित विश्वका आणविक होडमा रहेका देशहरुलाई दबाब दिने रुपमा यो वर्ष अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको हो ।

७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर काठमाण्डौं स्थित ९ वटा शक्ति राष्ट्रका दुतावास अगाडी प्रदर्शन गर्नुका साथै देशका ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गर्ने कार्यक्रम अनुसार शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको हो ।

बुटवलमा भएको कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले युद्ध रोकौ, शान्ति प्रवद्घन गरौँ, युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ,युद्ध निषेध, शान्ति विशेष, आणविक अस्त्र चाहिँदैन,शान्ति मास्न पाईदैन लगायतका प्ले कार्ड सहित सडकमा प्रदर्शन गरेका थिए ।

कार्यक्रममा समाजका पूर्व रुपन्देही सभापति तथा केन्द्रिय अनुशासन बिभागका सदस्य लालहरी पाण्डेले शान्तिप्रेमीहरु एकजुट बन्नुपर्ने बताउनुभयो । उहाले अब युद्ध गरेर कोहिपनि अघि बढ्न नसक्ने भन्दै आणविक अस्त्र त्याग्न शक्तिशाली मुलुकहरुलाइ आग्रह गर्नुभयो ।

सभापति डिपी खनालले नेपाल आणविक हतियार निशेध सन्धीको एक हस्ताक्षरकर्ता भएकाले सो सन्धीलाइ शीघ्र अनुमोदन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपसभापति कृष्ण चौहान क्षेत्री,जमुना पौडेल लगायतले बोल्नुभएको थियो ।

आणविक अस्त्रको विश्वव्यापी उन्मुलन,आणविक हतियारहरुको निर्माण र परिक्षणमा पूर्ण प्रतिवन्धको मागसहित मानव अधिकार तथा शान्ति समाजले विगत २५ वर्षदेखि अभियान सञ्चालन गर्दै आएको शान्ति समाजका वरिष्ठ केन्द्रीय उपसभापति गोविन्द खनालले जानकारी दिनु भयो ।

सन् २००८ मा आणविक अस्त्रको विश्वव्यापी उन्मुलनका लागि १० बुँदे अवधारणा समेत प्रकाशित गरेको शान्ति समाजले आणविक अस्त्रको निर्माण र परिक्षणमा पूर्ण प्रतिबन्धका अतिरिक्त विद्यमान आणविक अस्त्रहरु समुल नष्ट गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघमा आयोजित सम्मेलनद्वारा आणविक हतियार निषेध सन्धी ग्रहण गरिएको थियो ।

यस सम्बन्धमा मतदान हुँदा राष्ट्रसंघका १ सय २२ राष्ट्रले पक्षमा, १ राष्ट्र (नेदरल्याण्ड)ले विपक्षमा मत हालेका थिए भने अमेरिका, रुस, चीनसहित आणविक क्लबका ९ वटै सदस्य राष्ट्र र अमेरिकी गठबन्धन नेटोका सदस्य राष्ट्रहरु (नेदरल्याण्ड बाहेक) गरी ६९ वटा राष्ट्रले मतदान गरेनन् ।

तत्पश्चात आणविक हतियार निषेध सन्धी २०१७ सेप्टेम्बर २० मा हस्ताक्षरका लागि खुला भएको र २४ अक्टोबर २०२० मा ५० राष्ट्रले अनुमोदन गरेको हुँदा त्यसको ९० दिनपछि अर्थात २०२१ को जनवरी २२ बाट लागू हुने भएको छ ।

८४ राष्ट्रले हस्ताक्षर गरिसकेको सो महासन्धीमा नेपालले हस्ताक्षर गरेता पनि हालसम्म अनुमोदन गरेको छैन । सन्धीले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन÷निर्माण, भण्डारण आदीलाई निषेध गरेको छ भने आणविक अस्त्रको प्रयोग वा प्रयोग गर्ने धम्कीलाई समेत निषेध गरेको छ ।

युद्धका कैयन् कारणहरु भए पनि युद्धको मूल कारण शासकहरूको अहंकार र उन्माद नै भएको समाजको ठहर छ ।

सन् १९३९ मा शुरु भई ६ वर्ष चलेको दोस्रो विश्वयुद्धमा त्यो बेलाको जनसंख्याको झन्डै तीन प्रतिशत अर्थात् साढे ७ करोड मान्छे मारिएका थिए ।

दोस्रो विश्वयुद्धको समाप्तिपछि आणविक अस्त्रको होडबाजी र भण्डारण तिव्र हुँदै गएको देखिन्छ । अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायल गरी ९ वटा देशसँग हालसम्म एटम, न्युट्रन र हाइड्रोजन गरी झण्डै १३४४० आणविक अस्त्र भण्डारण भएको बताइएको छ ।

त्यसमध्ये रुससँग ६३७५ र अमेरिकासँग ५८०० गरी ९० प्रतिशत आणविक अस्त्र रुस र अमेरिकासँग रहेको छ ।

एक तथ्यांक अनुसार विश्वमा हालसम्म २०५६ आणविक परिक्षण भएका छन् त्यसमध्ये आधा अर्थात १०३० अमेरिकाले र ७१५ वटा परिक्षण रुसले गरेको छ ।

You might also like