ओली सरकारविरूद्धको प्रदर्शनमा कांग्रेसद्धारा १० नेता १० नारा तय
देउवा मकवानपुर वरिष्ठ नेता पौडेलले काठमाडौंमा संबोधन गर्ने
काठमाडौं, २६ मंसिर
केपी ओली सरकारको सर्वसत्तावादका बिरुद्ध प्रदर्शनको तयारी गरेको नेपाली कांग्रेसले देशका प्रमुख १० शहरमा सम्बोधन गर्ने १० नेता र १० नारा तय गरेको छ ।
यही मंसिर २९ गते हुने बिरोध सभालाई संबोधन गर्न पार्टी सभापति सेर बहादुर देउवा मकवानपूर र बरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाण्डौमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
देशैभर हुने प्रदर्शनमा केन्द्रीय कार्यालयबाटै प्रतिनिधि खटाएको हो । शीर्ष नेताहरूले देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्न लागेका छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुने जनाइएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।
केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम तय भएको छ ।
जिल्ला सभापतिहरूले माग गरेअनुसार केन्द्रीय सदस्यहरू जिल्लाहरूमा हुने प्रदर्शनमा सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
उक्त दिनको प्रदर्शनका लागि केन्द्रबाटै दश वटा नारा तय गरि परिपत्र गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन भनेको कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भने सर्वसत्तावादीको आरोप लगाएको छ ।
‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा केन्द्रबाटै तय गरिएका छन् ।
प्रदर्शनमा केन्द्रले तोकेकाबाहेक अरू नारा लगाउन नपाइने कांग्रेसले जनाएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेललाई गत मंसिर १७ गते दमौलीमा पूर्वनिर्धारित कार्यक्रम अनुसार पुल उद्घाटन गर्ने क्रममा प्रशासन र नेकपाले अवरोध गरेपछि कांग्रेसले सरकारका प्रवृत्तिविरूद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।
सरकार सर्वसत्तावादको बाटोमा गएको कांग्रेसको आरोप छ । भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल रहेकोमा पनि कांग्रेसको विरोध छ ।
पछिल्लो समय राजावादीहरूले देशका विभिन्न सहरमा प्रदर्शन गरेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमा नै खतरा हुन सक्ने भन्दै कांग्रेसले बेलैमा सचेत हुनुपर्ने बताउदै आएको छ ।
गत फागुनदेखि सार्वजनिक कार्यक्रम नगर्न मातहत निकायलाई निर्देशन दिएको कांग्रेसले कोरोना महामारीबीच सरकार बिरुद्ध प्रदर्शन गर्न लागेको हो ।