कोरोना खोप खरिद प्रक्रिया तत्काल थाल्न विज्ञको सुझाव
काठमाडौँ,२६ मंसिर ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिदका लागि जतिसक्दो छिटो प्रक्रिया सुरु गर्न विज्ञहरूले सरकारलाई सुझाव दिएका छन् ।
खोप उत्पादन गर्ने कम्पनीसँग सम्झौता गरी आपूर्ति सुनिश्चित नगरिए खोप बनिसकेपछि ल्याउन ढिलाइ हुने उनीहरूको भनाइ छ ।
ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनमा कोभाक्स सुविधाअन्तर्गत सहुलियत मूल्यमा आउने (जनसंख्याको २० प्रतिशतलाई पुग्ने) भनिएको बाहेक सरकारले अन्य खोप किन्ने तयारी नगरेको भन्दै विज्ञहरुले खोप उत्पादन गर्ने कम्पनीसँग सम्झौता गरी आपूर्ति सुनिश्चित गर्न सुझाव दिएका हुन् ।
जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले ‘कोभाक्स इमिडिएट सोलुसन नभएको भन्दै सरकारले सबै विकल्प खुला राख्दै खोपको अग्रिम बुकिङ सुरु गर्नुपर्ने बताउनु भयो ।
कोभाक्स सुविधाबाट प्राप्त हुने खोप पनि एकै पटक नआई पहिले जनसंख्याको ३ प्रतिशतलाई पुग्ने मात्रामा आउँने र चरणबद्घ रूपमा २० प्रतिशत आउने भएकोले थप खोप आपूर्तीका लागि तत्काल प्रक्रिया सुरु गर्नुपर्ने विज्ञहरुको सझाव छ ।
कोभाक्स सुविधाबाट प्राप्त हुने भनिएको पहिलो चरणको खोपसमेत २०७८ वैशाखयता आउने छाँट नदेखिएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।
उत्पादनकर्ता कम्पनीसँग प्रत्यक्ष सम्पर्क गरेर खोप किन्ने प्रक्रिया सुरु गर्न धेरै ढिलो भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरले बताउनु भयो ।
अहिले फास्ट ट्रयाकबाट खरिद प्रक्रिया सुरु नगरे केही समयपछि किन्न खोज्दा पनि मुलुक सुहाउँदो खोप सहजै पाउन नसकिने उहाँको दाबी छ ।
उहाँले कोभाक्सअन्तर्गत पाइने खोपलाई बोनस ठानेर थप खोप खरिदमा तुरुन्त ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।
छिमेकी मुलुकमा जस्तै नेपालमा पनि डेढदेखि दुई करोड जनसंख्यालाई खोप दिएर यो संक्रमणविरुद्घ स्वास्थ्य सुरक्षा प्रदान गर्न अग्रिम तयारी अत्यावश्यक रहेको उहाँको भनाई छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले यही अवस्था हेर्दा सरकारी माध्यमले नेपालमा कोभिडको खोप कम्तीमा ६ महिनायता आउने सम्भावना रहेको बताउनु भयो ।
सरकारले ६० प्रतिशत जनसंख्याका लागि खोप किन्दा करिब ५ करोड मात्रा किन्नुपर्ने हुन्छ । ‘खोप लगाउँदा २० देखि ३० प्रतिशत वेस्टेज (नष्ट) हुने भएकाले ३ करोड ६० लाख मात्रा खोप लगाउन करिब ५ करोड मात्रा आवश्यक पर्ने अनुमान छ ।
विज्ञहरूका अनुसार २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने खोपको व्यवस्थापन गर्न सहज हुन्छ ।