आइतबारको संवैधानिक परिषद्को बैठकमा देउवा सहभागी नहुने
काठमाडौं २६ मंसिर ।
आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाले नजाने हुनु भएको छ ।
नेपाली कांग्रेसका सभापति देउवाले आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा आफु उपस्थित हुन नसक्ने जानकारी गराउनु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक भोलि आइतबार विहान ९ बजे बोलाउनु भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका लागि संवैधानिक परिषदको बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
२९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै देउवाले त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश दिनु भएको हो ।
नेकपा स्थायी कमिटी बैठक छल्न पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार संबैधानीक परिषदको बैठक बोलाएको भन्दै नेकपाकै नेताहरुले आलोचना गरेका छन् ।