गौतमबुद्ध कप क्रिकेट ः सुपरओभरमा नारायणीले वागमतीलाई हरायो
बुटवल,२७ मंसिर ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय मैदान चितवनमा सञ्चालन भएको गौतमबुद्ध कप क्रिकेटमा टिम नारायणीले सुपर ओभरमा वागमतीलाई हराएको छ ।
सुपर ओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको वाग्मतीले २० रन मात्रै बनायो ।
पहिले ब्याटिङ गरेको नारायणीले करण केसीको लगातार ३ वटा छक्काको मद्दतमा २५ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा आएका ज्ञानेन्द्र मल्लले ३ वटा छक्का हान्दै वाग्मतीलाई जितको आशा देखाए पनि सम्भव हुन सकेन ।
यसअघि वागमतीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । नारायणीका आरिफ शेखले सर्वाधिक ४४ रन बनाए ।
पहिले ब्याटिङ गरेको वाग्मतीले ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।
उसका लागि सुनिल धमला र विक्रम सोबले समान ३७÷३७ र रसिद खानले २७ रन बनाउनुबाहेक अरुले दोहोरो रन जोड्न सकेनन् ।
नारायणीका लागि शाहव आलमले ३ र दिपेश श्रेष्ठले २ विकेट लिए । प्रतियोगिताको दोस्रो खेलमा भोलि वाग्मती र राप्ती खेल्ने छन् भने तेस्रो खेलमा राप्ती र नारायणी खेल्ने छन् ।
शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल आउँदो मंगलबार हुने छ ।