कोभिडबाट प्रभावित नागरिकका समस्या सम्बोधन गर्न सरकारले दायित्व निर्वाह गर्नुपर्नेमा जोड

बुटवल २७ मंसिर
कोभिडका कारण नागरिकको जनजीवन प्रभावित भएकाले त्यसलाई सम्बोधन गर्ने गरि सरकारले दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । कोरोना महामारीपछि थलिएको अर्थतन्त्र, बेरोजगार भएका नागरिक र कोरोना उपचारमा राज्य जिम्मेवारीबाट पन्छिने काम भएको गुनासो समेत नागरिकहरुको छ । जागरण मिडिया सेन्टरले रेडियो जागरण र राज्य टेलिभिजनसँगको सहकार्यमा शनिबार बुटवलमा गरेको कचहरी कार्यक्रममा सहभागीहरुले कोरोनाको असर कम गर्ने गरि प्रदेश सरकारले काम गर्नुपर्ने बताइएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले चैतदेखि नै प्रदेश सरकारले नागरिकको जीवन रक्षा गर्ने निर्णय, योजना अघि सारेको दावी गर्नु भयो ।
उनले प्रदेश सरकारले स्थानीय र संघीय सरकारलाई समन्वय गरेर कोरोना महामारीमा प्रभावकारी काम गरेको जिकिर गर्नु भयो । सरकारको आलोचना गर्नलाई गरिएको हो तर आफूहरुले बेरोजगारी समस्या हल गर्न तथा नागरिकलाई उपचारमा सहजता दिलाउने गरि काम गरेको बताउनु भयो । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले प्रदेश सरकारले प्रयास गरेको भएपनि त्यो पर्याप्त भने नरहेको बताउनु भयो । उहांले सरकारले जनताको जीवन सुरक्षा गर्ने सवालमा चुकेको आरोप लगाउनु भयो ।
कार्यक्रममा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ –काउनका राष्ट्रिय अध्यक्ष जेवि गुरुङले निर्माण मजदुहरुको अवस्थाबारे सरकार मौन रहेको बताउनु भयो । कोभिड १९ नागरिक सरोकार अभियानका अभियान्ता समुन्द्र जिसिले कोरोनाले दैनिक जीवनयापनमा समस्या आएको तथा व्यवसयाय धारासायी हुँदा पनि सरकारले सहुलियत दिन नसकेको बताउनु भयो । जिफन्टका रञ्जु भट्टराई, अधिकारकर्मी सावित्रा घिमिरे, सावि विश्वकर्माले अपाङ तथा दलित र सिमान्तकृत नागरिकको जीवन सबैभन्दा बढि प्रभावित भएको बताउनु भएको थियो ।

You might also like