पोखरीमा डुबेर तेह्रथुममा तीन बालिकाको मृत्यु
बुटवल, २८ मंसिर ।
पोखरीमा डुबेर तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा तीन बालिकाको मृत्यु भएको छ ।
स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा डुबेर बालिकाहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना रहेका छन् ।
गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको बताए ।
शनिबार दिउँसो खेल्न भनेर उनीहरु घरबाट निस्किएका थिए । अबरेसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा उनीहरु प्लास्टिकको कृत्रिम पोखरीमा मृत फेला परेका थिए ।
शवहरु पोष्टमार्टमका लागि सदरमुकाम म्याङलुङ पठाइएको प्रहरीले जनाएको छ ।