दूषित र न्यूनस्तरको खाद्य पदार्थ उत्पादन बिक्री गर्ने दुई उद्योगविरुद्ध मुद्दा दायर
नवलपरासी,२९ मंसिर ।
दूषित र न्यूनस्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री, वितरण गरेको आरोपमा दुई उद्योगविरुद्ध मुद्दा दायर भएको छ ।
प्रशोधित पिउने पानी र भेजिटेबल सस उत्पादन गर्ने उद्योगविरुद्ध कारबाहीका लागि आइतबार नवलपुर जिल्ला अदालतमा मुद्धा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले जानकारी दिनुभयो ।
गैँडाकोट नगरपालिका ४ मा रहेको माउण्ट एभरेष्ट पिउने पानी उद्योग र भरतपुर १ को कुँवर एण्ड ब्रदर्श ग्रुपलालाई कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको अधिकृत दाहालले बताउनुभयो ।
दुवै उद्योगले खाद्य ऐनको उल्लंघन गरेकाले खाद्य ऐन २०२३ को दफा ५ (१) बमोजिम कारबाहीको मागदाबीसहित मुद्दा दायर गरिएको छ ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालका अनुसार यी उद्योगलाई बढीमा ५० हजार रुपैयाँसम्म जरिबाना र पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।