कांग्रेसको देशव्यापी प्रदर्शन ः प्रधानमन्त्री ओलीकै कारण सडकमा ’राजा आऊ’को नारा लाग्यो ः देउवा

प्रधानमन्त्री ओलीको कार्यालय सबैभन्दा धेरै भ्रष्ट छ ः रामचन्द्र पौडेल
बुटवल,२९ मंसिर ।
बर्तमान सरकारको सर्वसत्तावादका बिरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी बिरोध प्रदर्शन गरेको छ ।

देशव्यापी प्रदर्शनको आह्वान गरेको कांग्रेसका नेताहरुले देशका बिभिन्न ठाउमा भएका बिरोधसभालाई सम्बोधन गरेका छन् ।

हेटौँडामा आयोजित सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण ’राजा आऊ देश बचाऊ’को नारा लागेको आरोप लगाउनु भयो ।

ओलीसँगको मिलेमतो र निरासाका कारण यस्तो भएको देउवाको टिप्पणी थियो ।
कोरोना महामारीको समयमा जनताका लागि काम गर भन्दै नेपाली काग्रेसले सरकारलाई पूर्ण सर्मथन गरेको तर सरकार सर्वसत्तावाद साँध्नेतिर अघि सरेको बताउनु भयो ।

‘हामीले कोरोनामा जनतालाई बचाउन सरकारलाई यत्रो समय सहयोग गरेकै हो । कोरोना कोषमा रकमजम्मा गर्ने देखि रचनात्मक आलोचना गरेरका थियौँ,’ देउवाले भन्नुभयोे, ‘तर सरकार स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गर्ने, कमिसन लिने अनि जनताको उपचार नगर्ने काममा लाग्यो ।’

सरकार सर्वसत्तावाद लाद्ने र आफूबाहेक अरु सबैलाई निषेध गर्नेकाममा लागेकाले कांग्रेस सडकमा आउन परेको देउवाको दाबी थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै कांग्रेस प्रवक्ता नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले सुतेको कांग्रेसलाई नजिस्क्याउन सरकारलाई चेतावनी दिनु भयो । कांग्रेसलाई जिस्क्याउनु भनेको सुतेको बाघलाई जिस्क्याउनु सरह भएको उहाँको टिप्पणी थियो ।

‘कोरोनामा जनतालाई रक्षा गर र काम गर भनेर कांग्रेसको तर्फबाट सवैभन्दा पहिला ५० लाख लगेर सरकारलाई दिएकै हौँ,’ शर्माले भन्नुभयो, ‘तर सरकारले त्यसो नगरेर भ्रष्टाचार र कमिसन खाने र महामारीको समयमा समेत भ्रष्टाचार ग¥यो ।’

प्रधानमन्त्री ओलीको कार्यालय सबैभन्दा धेरै भ्रष्ट छ ः रामचन्द्र पौडेल
राजधानी काठमाण्डौको शान्ति वाटिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली सरकार इतिहासकै भ्रष्ट भएको आरोप लगाउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नकै लागि सबै निकाय प्रधानमन्त्री कार्यालयअन्तर्गत केन्द्रीकृत गरेको पौडेलको आरोप थियो ।
प्रधानमन्त्री कार्यालय सबैभन्दा धेरै भ्रष्ट रहेको भन्दै पौडेलले भ्रष्टाचार गर्नकै लागि सबै अधिकार आफैमा केन्द्रित गरेको दाबी गर्नुभयो ।
भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प्रधानमन्त्रीको इसारामा चलेको र केहीलाई खतमाफ दिने अड्डा बनेको उहाँले बताउनु भयो ।

‘कम्युनिस्ट अधिनायकवादी सर्वसत्तावादमा भ्रष्टाचार मात्र देखिएको छ,’ पौडेलले प्रश्न गर्नु भयो, ‘हरेक मन्त्रीको भ्रष्टाचारबारे सार्वजनिक हुँदा किन प्रधानमन्त्री अख्तियारभन्दा अघि आएर बचाउँमा उभिनु हुन्छ ।’
‘जबजब मन्त्रीले भ्रष्टाचार गरेको काण्ड आउँछ, तबतब प्रधानमन्त्री स्वयंम अगाडि सरेर यो मन्त्री त चोखै छन्, मन्त्री त निर्दोष छन् । यो मन्त्रीलाई केही हुँदैन भनेर अख्तियातिर इसारा गर्छन् । अनि अख्तियार त्यो केसलाई मुल्तबीमा राख्छ,’ उहाँले भन्नु भयोे, ‘सरकारको इसारामा चल्ने हो भने त्यो आयोग किन चाहियो ?’
नेपाली जनता जागरणको अवस्थामा पुगेको भन्दै उहाँले अब कम्युनिस्ट सर्वसत्तावाद समाप्त हुने दाबी गर्नुभयो ।
‘राजाको निर्दलीय पञ्चायतको समयमा रुख रोप्दा हाम्रो टाउँको फुटेको थियो,’ पौडेलले भन्नुभयो, ‘अहिले गणतन्त्रणकालमा कम्युनिस्ट शासन चलिहरँदा पुल बनाउँदा हाम्रो करङ भाँचिएका छन् ।’

कम्युनिस्ट सरकारले सत्ताको घोर दुरपयोग गरेको आरोप लगाउदै उहाँले ‘गाोकर्ण, यति, वाइडवडीदेखि ओम्नीसम्मका भ्रष्टाचारका कुरा त्यसैको उदाहरण भएको बताउनु भयो ।

भ्रष्टाचारी खोज्न अन्त जानै पर्दैन,बालुवाटार र सिंहदरबार गए पुग्छ ः गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको आरोप लगाउनु भएको छ ।

सोमबार कैलालीमा आयोजित कांग्रेसको बिरोध सभालाई सम्बोधन गर्दै थापाले ओली सरकार इतिहासकै भ्रष्ट भएको बताउनु भयो ।
‘बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छे हिजो जेल गयो । सिफारिस गर्ने मान्छे जेल जाँदा तर खाने मान्छे चाहिँ अर्थमन्त्रीको कुर्सीमा बिराजमान हुनुहुन्छ’ उहाँले भन्नु भयो ।

निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यारालाई गृहमन्त्रीले संरक्षण गर्ने, बालुवाटारको जग्गा हडप्ने अर्थमन्त्री अनि स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने प्रधानमन्त्रीको सबैभन्दा विषेश मन्त्री भएको भन्दै थापाले भ्रष्टाचारी खोज्न अन्तै जान नपर्ने र सिंहदरवार र बालुवाटार गए पुग्ने बताउनु भयो ।

‘नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना भएको छैन’ थापाले भन्नु भयो, भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन । बालुवाटार गए पुग्छ, सिंहदरबार गए पुग्छ ।’

थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूसँग चुनाव लड्न चुनौती दिनु भएको छ ।
राष्ट्रपतिको राजनीतिक सक्रियताको आलोचना गर्दै थापाले नेकपा विवादमा सक्रिय भएर पछिल्लो समय राष्ट्रपति भण्डारी श्री ५ बडामहारानी बन्न खोजेको बताउनु भयो ।
‘यदि तपाईँ श्री ५ बडामहारानी बन्न चाहनुभएको हो भने भन्न चाहन्छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्स्योस्, हात नलम्क्याइबक्स्योस्’, उहाँले भन्नु भयो, ‘हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबस्योस् ।’

प्रमुख प्रतिपक्षी दल भएर पनि कमजोर प्रतिपक्षीय भूमिकामा रहेको आरोप लागेको कांग्रेस तनहुँमा बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको आक्रमणपछि जागेको छ ।
सोहि घटनापछि सरकारको सर्वसत्तावाद बिरुद्ध देशव्यापी प्रदर्शन आह्वान गरेको कांग्रेस एकपटक पुन जागेको स्वयं कांग्रेसका नेता कार्यकर्ताहरुले बताएका छन् ।

You might also like