सभामुख अनुपस्थित हुँदा संवैधानिक परिषदको बैठक रोकियो

४८ घण्टाअघि बैठकका एजेण्डाहरु उपलब्ध गराइनुपर्ने व्यवस्था भए पनि अध्यक्षले त्यसो नगरेको सभामुखको गुनासो

काठमाडौं,३० मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्नि सापकोटा नगएपछि रोकिएको छ । विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा नजाँदा आइतबारको बैठक आजका लागि सरेको थियो ।

आइतबार संघीय संसद सेवा दिवस परेकाले बैठकमा नगएको बताउनु भएका सापकोटाले मंगलबार भने अध्यक्ष र सदस्यहरुवीच समन्वयको अभाव भएको भन्दै बैठकमा नआउने प्रधानमन्त्रीलाई जानकारी गराएको बताइएको छ ।

परिषदको बैठकका एजेण्डाहरु ४८ घण्टाअघि नै सदस्यहरुलाई उपलब्ध गराइनुपर्ने व्यवस्था भए पनि अध्यक्षले त्यसो नगरी बैठक डाकेकोमा परिषद सदस्यहरुको असन्तुष्टि छ ।

अख्तियार, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ पदाधिकारीको नियुक्तिका लागि प्रधानमन्त्री ओलीले परिषदको बैठक बोलाउँदै आए पनि बस्न सकेको छैन ।

नियुक्तिहरुका लागि विपक्षी दलका नेता शेरबहादुर देउवासँग प्रधानमन्त्रीले परामर्श गरे पनि आफ्नै दलका नेताहरुसँग परामर्श नगरेको भन्दै नेकपाभित्रै असन्तुष्टि चुलिएको छ । त्यसैको प्रभाव सभामुखमाथि पनि परेको हुनसक्ने बताइएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद ६ सदस्यीय हुने संविधानले परिकल्पना गरेको छ । परिषदका सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता रहन्छन् ।

परिषदको बैठकमा कोरम पुग्नका लागि प्रधानमन्त्रीबाहेक ४ जना सदस्यको उपस्थिति अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । अहिले ४ जना सदस्यमात्र रहेकाले कोही एकजना उपस्थित नहुँदा पनि बैठक बस्न सक्दैन ।

You might also like