युवतीलाई धोका दिएको आरोपमा प्रहरी निरीक्षक शर्मा पक्राउ

काठमाडौं, १ पुस ।
श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा वडा प्रहरी कार्यालय, बैदाम पोखरामा कार्यरत प्रहरी निरीक्षक ध्रुव शर्मा पक्राउ परेका छन् । पिडित युवतीको उजुरीको आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय, पर्वतले पक्राउ गरको हो ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा छँदा सोही स्थानकी युवतीसँग प्रेम विवाह गरेका शर्माले श्रीमतीको इच्छा बिपरीत विवाह गरेको केही दिनपछि पर्वतकै एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराएका थिए ।

प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्कपछि गर्भ रहेको र विवाहपछि जबर्जस्ती गर्भपतन गराएको भन्दै पीडित युवतीले जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा उजुरी दिएकी थिइन् । घटनास्थल कुस्मा बजार भएकाले छानबिनका लागि जिल्ला प्रहरी कार्यालय, पर्वतमा स्थानान्तरण भएको थियो ।

शर्मालाई अनुसन्धानका लागि पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको पर्वत प्रहरीले जनाएको छ ।

पीडित युवती र प्रहरी निरीक्षक ध्रुव शर्माबीच प्रेममा रहेकै समयमा सम्बन्धमा खटपट आएको थियो । युवती गर्भवती भइसकेपछि शर्माले अर्कै युवतीसँग विवाहको तयारी गरेका थिए ।

स्मृति जिल्ला निर्वाचन कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा काम गर्थिन् । प्रशासनमा बसेर मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएकी स्मृति र प्रशासनमा आउजाउ गरिरहने ध्रुबबीच आठ महिनाअघि भएको चिनजान प्रेम, शारीरिक सम्पर्क हुँदै विवाहसम्म पुगेको स्मृतिको दावी छ ।

गत चैत महिनामा ध्रुवको पोखरामा एक युवतीसँगै विवाहका लागि टिकाटालो भइसकेको थियो । टिकाटालोको तस्बीर सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो । टिकाटालेको तस्बीर सार्वजनिक भएपछि स्मृतिले जिल्ला प्रहरी प्रमुख र आफन्तहरुलाई ध्रुबसँगको सम्बन्धको बारेमा जानकारी गराएकी थिइन् ।

स्मृतिको मौखिक उजुरीको आधारमा टिकाटालो भइसकेको विवाह रद्द भएको थियो ।
स्मृति र ध्रुबले गत असारमा बेनीकै मन्दिरमा विवाह गरेको तस्बीर समेत सार्वजनिक गरेका थिए ।

विवाह गरेपछि शर्मा दम्पत्ती बेनीमै कोठा भाडा लिएर बस्दै आए पनि बेलाबेलामा खटपट भइरहन्थ्यो । सँगै बसेपनि, सामाजिक सञ्जालमा विभिन्न ठाउँ घुम्न गएको तस्बिर राख्ने गरेका थिए ।

You might also like