अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग
काठमाडौं,३ पुस ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ ।
शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो ।
संविधानको भावना र मर्म विपरीत अध्यादेश आएको भन्दै कांग्रेसले तत्काल अध्यादेश फिर्ता लिन माग गरेको बैठकपछि कांग्रेस संसदीय दला प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनु भयो ।
कांग्रेसले सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले संसदको अधिवेशन तत्काल बोलाउन पनि माग गरेको छ ।
कोरोनाको महामारी व्यवस्थापन गर्न सरकार पूर्ण रुपमा असफल भएको कांग्रेसको ठहर छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक खाँडले आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन सरकारले अध्यादेश ल्याएको दाबी गर्नु भयो ।