चिसोका कारण पाँच जनाको मृत्यु

बुटवल,३ पुस ।
केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक साताको अवधिमा चार जनाको मृत्यु भएको छ ।

चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा ती चारै जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको पनि बताइएको छ ।

उता बाजुराको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिनु भयो ।

आफ्नै लापर्वाहीका कारण उनको कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, चिसोप्रभावित सुखीपुर नगरपालिका–८ र गोलबजार नगरपालिका–१३ का १५० परिवारलाई स्वदेश लघुवित्त संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको छ ।

सुखीपुर नगरपालिका–८ अस्पतालचोकका १ सय ३० र गोलबजार नगरपालिका–१३ का २० परिवारलाई चिसोबाट जोगिन न्यानो कपडा वितरण गरेको प्रजिअ कंणेलले जानकारी दिनु भयो ।

You might also like