फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाइ कोरोना संक्रमण

अरु धेरै उच्च अधिकारी पनि आइसोलेसनमा
काठमाण्डौ,३ पुस ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको । म्याक्रोँलाई बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएको सिन्ह्वाले जनाएको छ । संक्रमण पुष्टि भएसँगै आइसोलेसनमा बस्ने राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति म्याक्रोँलाई बिहीबार पिसिआर पोजेटिभ देखिएको र अब आगामी सात दिनका लागि म्याक्रोँ आइसोलेसनमा रहने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी गराएको हो । म्याक्रोँ आइसोलेसनमा रहे पनि त्यहाँबाट अनलाइन मार्फत गर्न मिल्ने कामहरु भने जारी रहने पनि राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना पोजेटिभ देखिएपछि म्याक्रोँको आगामी मंगलबार र बुधबार हुने भनिएको लेबनान भ्रमण स्थगित भएको बताइएको छ ।

फ्रान्सका प्रथम महिला ब्रिगिटे म्याक्रोँको परीक्षणमा भने कोरोना भाइरस रिपोर्ट नेगेटिभ देखिएको बताइएको छ ।

राष्ट्रपति म्याक्रोँलाई प्रारम्भिक रुपमा केही लक्षणहरु पनि देखिएको समाचारमा जनाइएको छ । तर, प्रथम महिलालाई भने कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएको र कुनै लक्षण पनि नदेखिएको बताइएको छ ।

राष्ट्रपति म्योक्रोँलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उहाँको सम्पर्कमा रहेका फ्रान्सका कैयौँ उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा बस्नुपर्ने भएको समाचारमा उल्लेख छ । फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्स पनि राष्ट्रपति म्याक्रोँको सम्पर्कमा रहेकाले उहाँलाई पनि आइसोलेसनमा बस्नुपर्ने भनिएको छ । तथापि, प्रधानमन्त्री क्यास्टेक्समा भने कुनै लक्षणहरु नदेखिएको बताइएको छ । यसका साथै केही मन्त्रीहरु र अरु केही उच्च सरकारी अधिकारीहरु पनि राष्ट्रपति म्याक्रोँको निरन्तर सम्पर्कमा रहेकोले उनीहरुलाई पनि आगामी केही दिन आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

फ्रान्सको सरकारले बनाएको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार उनीहरु आगामी केही दिनका लागि आइसोलेसनमा बस्नुपर्ने भएको हो ।

You might also like