कोरोना संक्रमित अबदेखि १० दिन मात्रै क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौँ,३ पुस ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ ।

यसअघि संक्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने व्यवस्था गरिएको हो ।

१० दिनपछि संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने विभिन्न अध्ययनले देखाएको भन्दै मन्त्रालयले क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने समयावधि घटाएको जनाइएको छ ।

संक्रमणको लक्षण चिह्न देखिएर बिरामी भएका र गम्भीर प्रकृतिका बिरामीबाहेक सबै संक्रमितलाई १० दिन मात्र राख्ने मन्त्रालयको नीति, योजना र अनुगमन महाशाखाले निर्णय गरेको थियो ।

यस्तै मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालक केन्द्रले विदेशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १० दिन क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपन मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

महाशाखाले १० दिन बसेका आधारमा मात्र स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न सबै अस्पताललाई समेत अनुरोध गरेको छ ।

महाशाखा प्रमुख डा गुणराज लोहनीले सूचना प्रणाली अद्यावधिक गरेअनुसार नै अस्पताललाई शोधभर्नाबापतको रकम उपलब्ध गराइने बताए ।

उहाँले कुनै पनि अस्पतालले कोभिड–१९ का बिरामी भर्ना गरी उपचार गरेको सूचना प्रणालीमा अद्यावधिक नगरेमा मन्त्रालय÷प्रदेश÷स्थानीय तहबाट हुने अस्पताल नवीकरण वा सूचीकरण नहुने व्यवस्थासमेत गरिएको बताउनु भयो ।

मन्त्रालयले निःशुल्क उपचार गरेवापतको शोधभर्ना रकम माग गरिएका बिरामीबाट कुनै पनि शुल्क नलिन समेत अनुरोध गरेको छ ।
बिरामीबाट शुल्क लिएको पाइएमा शोधभर्ना नगरिने मन्त्रालयले जनाएको छ । नेपालमा हाल ४ सय ४४ जना क्वारेन्टिनमा र छ हजार ९४ जना होम आइसोलेशनमा रहेका छन् ।

You might also like