ओली प्रवृत्तिको प्रतिवाद गर्न निर्देशन अध्यादेश फिर्ता नलिए त्यसबाट उत्पन्न हुने परिणाम ओलीले नै भोग्नुपर्ने चेतावनी

काठमाडौँ,४ पुस ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले ओली प्रवृत्तिको प्रतिवाद गर्न आफू निकटहरूलाई निर्देशन दिएको छ  ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि निरन्तर आपत्ति जनाउँदै आएको नेकपाको असन्तुष्ट समूहले प्रदेशस्तरीय भेला गरी ओली प्रवृत्तिको प्रतिवाद गर्न आफू निकटहरूलाई निर्देशन दिएको हो ।

शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले ओली प्रवृत्तिको संगठित विरोधमा उत्रिन निर्देश गरेका हुन् ।

गत साता वागमती प्रदेशस्तरीय भेला गरेको दाहाल–नेपाल समूहले शुक्रबार प्रदेश १ को भेला गरेको हो । पार्टीभित्र सहमति खोज्नका लागि स्थायी कमिटी बैठक पर सारिरहेका बेला दुवै समूहले गुटगत गतिविधिलाई जारी राख्दै आफ्नो शक्ति सञ्चयलाई निरन्तरता दिएका छन् ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अध्यादेश फिर्ता गर्ने पार्टी स्थायी कमिटीले निर्णय गरे पनि प्रधानमन्त्री ओलीले त्यससम्बन्धी प्रक्रिया अगाडी नबढाएको भन्दै ओलीको तीव्र आलोचना गर्नु भएको थियो  ।

स्थायी कमिटीको निर्णय अनुसार अध्यादेश फिर्ताको प्रक्रियामा जानुपर्नेमा प्रधानमन्त्री ओलीले बिहीबार परिषद्को बैठक राख्ने प्रयत्न गरेपछि दाहालले आपत्ति जनाउनु भएको थियो । अब पनि अध्यादेश फिर्ता नलिए त्यसबाट उत्पन्न हुने परिणाम ओलीले नै भोग्नुपर्ने उहँको चेतावनी थियो ।

ओलीबाट पटक–पटक धोका पाएको बताउदै अध्यक्ष दाहालले दुई अध्यक्ष मिलेर जाँदा मात्र नभएकाले अब सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यको धारणालाई बोकेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

पार्टीमा आफू र ओलीले राखेका दुईवटा प्रस्तावका बारेमा जानकारी गराउदै दाहालले आफ्नो प्रस्तावमा विधि पद्धतिमा आइरहेको विचलनलाई सच्याउन जोड दिएको दाबी गर्नुभयो ।

विधि पद्धतिमा आइरहेको विचलनलाई सच्याउन आफ्नो प्रस्तावमा जोड दिएको बताउदै दाहालले तर ओलीले त्यस्ता विषयलाई पदसँग जोडेर प्रचार गरेकोमा आपत्ति जनाउनु भयो ।

वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको स्वेच्छाचारिता र एकाधिकारवादी सोचले सीमा नाघेको बताउनु भयो ।

ओलीले विधि, पद्धति नमानेर सबैको मानमर्दन गर्दै हिँडेकोमा उहाँले आपत्ति जनाएको भेलामा सहभागी नेताहरूले जानकारी दिए ।

भेलामा प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि नै धेरै टिप्पणी गरेका नेपालले पार्टी छ भन्ने ख्यालसमेत नगरी अघि बढ्न खोजेको टिप्पणी गर्नुभएको थियो ।

पार्टी नेता खनालले पनि ओलीले विधि पद्धति नमानेको र स्वेच्छाचारी भएर हिँडेकाले सच्याउन जरुरी रहेको बताउनु भएको थियो । उहाँले आफूहरूले उठाएको विषय कुनै पदका लागि नभएको प्रष्टीकरण दिनु भयो ।

दाहाल–नेपाल पक्षले यसअघि वाग्मती र काठमाडौंको थापाथली क्याम्पसमा युवा–विद्यार्थीको भेला गरेको थियो । ओली समूहले पनि यसअघि प्रदेश १ को भर्चुअल भेला गरेको थियो । उक्त भेलामा ओलीले नै सम्बोधन गर्नु भएको थियो ।

ओली समूहको भेलाचाहिँ धेरैजसो मदन भण्डारी फाउन्डेसनको ब्यानरमा हुने गरेको छ । शनिबार ओली समूहले गण्डकी प्रदेशमा भेला गर्ने तयारी गरेको छ । दुवै पक्षले पार्टीमा जुनसुकै खालको परिस्थिति आउन सक्ने जोखिम भएकाले शक्ति सञ्चय र एक–अर्कालाई दबाब बढाउन भेला गरेका हुन् ।

कोटेश्वर भेलापछि दाहालले साँझ प्रधानमन्त्री ओलीलाई भेट गर्नु भएको थियो ।
छलफलमा स्थायी कमिटीको निर्णय कार्यान्वयनको विषयमा केन्द्रित भए पनि कुनै ठोस सहमति भने भएको छैन । ओलीले अझै पनि दुवै दस्ताबेज फिर्ता लिएर साझा सहमतिको दस्ताबेज बनाएर जानुपर्ने प्रस्ताव गरिरहेका छन् ।

दाहाल भने स्थायी कमिटीमा दुवै प्रस्तावबारे छलफल गरेर निचोडमा पुग्नुपर्ने अडानमा छन् । स्थायी कमिटी बैठक आइतबारका लागि तय गरिएको छ ।

You might also like