संसद बिघटन गर्ने मन्त्रिपरिषदको निर्णय बिरुद्ध ठाउँ ठाउँमा प्रदर्शन

बुटवल,५ पुस ।
संसद बिघटन गर्ने मन्त्रिपरिषदको निर्णय बिरुद्ध ठाउँ ठाउँमा प्रदर्शन सुरु भएको छ ।
प्रस्तावको विरोधमा गर्दै पोखरामा सत्तारुढ विद्यार्थी संगठनले अनेरास्ववियु सहितका विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका हुन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपालनिकट विद्यार्थीले टायर बालेर विरोध जनाएका छन् । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा पनि गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । अनेरास्ववियुका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले ओलीको कदम अलोकतान्त्रिक भएको बताउनु भयो ।

प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालयमा गएको विरोधमा नवलपरासीमा नेविसंघले चक्काजाम गरेको छ ।

नेपाली कांग्रेसको भातृसंस्था नेविसंघ र तरुणदलका कार्याकर्ताले पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा प्रर्दशन गर्दै पूर्वपश्चिम महेन्द्रराजमार्गको यातायात अवरुद्ध गरेका हुन् ।

‘कम्युनिस्ट सरकार मुर्दावाद, संसद् विघटन गर्न पाइँदैन’ जस्ता नारा लगाउँदै उनीहरुले कावासोतीस्थित गणेशमान चोकमा महेन्द्रराजमार्गको यातायात ठप्प पारेका हुन् । जिल्ला प्रहरी कार्यालयबाट ३ सय मिटर पश्चिममा राजमार्ग अवरुद्ध गरिएको छ ।

दिउँसो पौने एक बजेबाट नेविसंघ र तरुणदलका कार्याकर्ताले राजमार्गमा प्रर्दशन गरेर यातायात अवरुद्ध गरेका हुन् । दुई तिहाइको सरकारले शासन गर्न नसकेर संसद् विघटन गर्न खोजेको भन्दै विद्यार्थीले नाराबाजी गरेका छन् ।

सरकारको असंवैधानिक कदम फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरिएको नेविसंघका जिल्ला सचिव लेखनाथ दवाडीले जानकारी दिनु भयो ।
विद्यार्थीहरुले राजमार्गमा प्रर्दशन गरेका कारण पूर्वपश्चिम हिडेका राजमार्गमा दर्जनौं सवारी रोकिएका छन् ।

You might also like