संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको कदम संविधानको मर्म र भावना विपरीत–कांग्रेस लुम्बिनी प्रदेश संसदीय दल
बुटवल,५ पुस ।
नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले संसद बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानको मर्म र भावना विपरीत भएको जनाएको छ ।
प्रदेश संसदीय दलका नेता विरेन्द्र कुमार कानोडियाले आइतबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्रीको यो कदम संविधानको मर्म र भावना विपरीत रहेको जनाएको हो ।
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरेको घटनालाई नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले गम्भीरतापूर्वक लिएको भन्दै विज्ञप्तिमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम लोकतन्त्रलाई नै सिध्याउन बाटोमा उद्यत देखिएको जनाइएको छ ।
प्रधानमन्त्री भएसँगै ओलीमा देखिएको सर्वसत्तावादी महत्वाकांक्षा यो चरणसम्म आइपुग्दा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमाथि नै प्रश्न चिन्ह खडा भएको भन्दै नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेश संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरु, सवै राजनीतिक दल, नागरिक समाज, संघ–सस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाईमा हार्दिक अपील गरिएको छ ।