बेरुजु फछ्र्योट गर्दै जाने र आगामि दिनमा बेरुजु नआउनेगरी काम गर्ने सचिवहरुको प्रतिवद्धता
बुटवल,५ पुस ।
लुम्बिनी प्रदेश सरकारका मन्त्रालय र प्रदेशसभा सचिवालयका सचिवहरुले आफ्नो मन्त्रालय तथा सचिवालयमा देखिएको बेरुजु फछ्र्योट गर्दै जाने र आगामि दिनमा बेरुजु नआउनेगरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रदेश सरकार अन्तरगतका मन्त्रालयहरुमा देखिएको बेरुजु फछ्र्योट सम्बन्धमा छलफल गर्न सोमबार लुम्बिनी प्रदेश सभा सार्वजनिक लेखा समितिले बोलाएको बैठकमा प्रदेश सरकारका बिभिन्न मन्त्रालय तथा प्रदेशसभा सचिवालयका सचिवहरुले उक्त प्रतिवद्धता जनाएका हुन् ।
महालेखा परीक्षकको कार्यालययका नायव निर्देशक नारायण एमसी र प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवाली समेतको सहभागितामा भएको बैठकमा मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयका सचिवद्धय भरतमणी सुवेदी र नारायण दुवाडी,आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बावुराम अधिकारी,भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारी,आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रबीलाल पन्थ,प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले केही अस्पस्टता र अनुभवको कमिका कारण सुरुका दिनमा काम गर्ने क्रममा बेरुजु आउने खालका काम भएपनि पछिल्लो समय त्यसमा सुधार आएको दाबी गर्नु भयो ।
बेरुजु फछ्र्योट गर्ने क्रम जारी रहेको भन्दै सचिवहरुले आगामि दिनमा बेरुजु नआउनेगरी काम गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
समितिका सभापति डिल्लीबहादुर चौधरीले सामान्य लेखा राख्ने लेखापालले पनि बुझ्न सक्ने लेखा प्रणालीमा समेत मन्त्री र सचिवहरुले बेवास्ता गर्नु दुखद रहेको भन्दै बिगतका कमि कमजोरीहरु सच्याउदै आगामि दिनमा बेरुजु नआउने गरी काम गर्न सचिवहरुलाई निर्देशन दिनु भयो ।
सभापति चौधरीको सभापतित्वमा सम्पन्न बैठकमा समितिका सदस्य तथा प्रदेश सभा सदस्य पार्वती पुन,कूलप्रसाद पोखरेल,बैजनाथ कलवार,बिष्णु पन्थी,वसीउद्दीन खाँ,युवराज खनाल,गीता थापा,विमला शर्मा पन्थी,कल्पना पाण्डले कतिपय योजनामा नीतिगत तहमै अनियमितता देखिएको भन्दै त्यसलाई सच्याउनुपर्नेमा जोड दिनु भएको थियो ।
मन्त्रालयगत रुपमा भएको बेरुजु फछ्र्योट सम्बन्धी छलफल मंगलबारसामाजिक विकास मन्त्रालय,उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय,भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय र मुख्य न्यायधिवक्ताको कार्यालयको बेरुजुबारे छलफल हुने प्रदेश सभा सचिवालयका प्रवक्ता समेत रहनु भएका समितिका सचिव श्याम प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।