कालिकामा कविता गोष्ठी र रक्तदान

बुटवल,६ पुस ।
कोभिड १९ ले शिक्षा क्षेत्रमा समस्याहरु सिर्जना गरेको मात्र नभई नयाँ अवसर समेत सिर्जना गरेको कुरा कविता मार्फत कविहरुले व्यक्त गरेका छन् ।

कालिका मानवज्ञान माविको ६० औ वार्षिकोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय कविता प्रतियोगितामा सहभागी कवि कवियत्रीहरुले उक्त कुरा बताएका हुन् ।

शेर बहादुर गुरुङ अन्तरमावि जिल्लास्तरीय कविता प्रतियोगितामा सहभागी विद्यार्थीहरुले कोभिडको कारणले लामो समयदेखि विद्यालयहरु बन्द हुदा पठनपाठन हुन नसकेकोले बालबालिकाहरु शिक्षाको अवसरबाट वन्चित रहेको, विद्यार्थीहरुमा मानसिक र सामाजिक समस्या देखा परेको र स्वास्थ्य जोखिम समेत बढेको पिडा कविता मार्फत पोखेका थिए ।

कोभिड र शिक्षा विषयक कविता प्रतियोगितामा सहभागी कविहरुले कविता मार्फत कोरोनाबाट बच्न गर्नुपर्ने कार्यको वारेमा संदेश समेत दिएका थिए ।
रुपन्देहीका विभिन्न १३ वटा विद्यालयका विद्यार्थीहरु सहभागी रहेको कविता गोष्ठीमा क्यानन आवसीय माविका प्रीया श्रेष्ठ, सगरमाथा बोर्डिंग स्कूलकी छात्रा बन्दना भट्टराई र केरवानी माविका राहुल सापकोटा क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् । कविता प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो.
विभिन्न प्रतियोगिताहरुमा विजयी विद्यार्थी खेलाडीहरु तथा विभिन्न परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सोमबार आयोजित कविता गोष्ठीमा पुरस्कृत गरिएको छ ।
विद्यालयको ६० औ वार्षिकोत्सव मूल समारोह पुष ७ गते हुने र उक्त कार्यक्रममा विभिन्न ४७ वटा अक्षयकोषबाट १०० जना विद्यार्थीहरुलाई छात्रवृति वितरण, वर्ष शिक्षक तथा दिर्घसेवी शिक्षक सम्मान गरिने विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले जानकारी दिनु भयो ।

विद्यालयले स्थापना गरेको कालिका स्वर्ण महोत्सव शिक्षा पत्रकारिता पुरस्कार यो वर्ष बुटवल एफएममा कार्यरत पत्रकार झविन्द्र देवकोटा र नागरिक दैनिकका पत्रकार विनोद परियारलाई प्रदान गरिने भएको छ । वर्षभरी सामुदायिक शिक्षामा कलम चलाउने पत्रकारहरुलाई उक्त पुरस्कार दिने गरिएको प्रधानाध्यापक ज्ञवालीले बताउनु भयो ।
कालिका मानवज्ञान माविको ६० औँ वार्षिकोत्सवको अवसर पारेर कालिका मानवज्ञान भूतपूर्व विद्यार्थी समाजले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रामनगरमा आयोजित रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको छ ।

You might also like