पत्रकारितामा कोरोनाको असर ः मिडियाको क्षेत्रमा छुट्याइएको वजेट पनि परिचालन नहुँदा पत्रकारिता क्षेत्र संकटमा
बुटवल,८ पुस ।
मिडियाको क्षेत्रमा छुट्याइएको वजेट पनि परिचालन नहुँदा कोरोनाका कारण पत्रकारिता क्षेत्र संकटमा परेको सरोकारवालाहरुले बताएका छन् ।
लुम्बिनी प्रदेशको पत्रकारितामा कोरोनाको प्रभावबारे मंगलबार बुटवलमा आयोजित मिडियाका सम्पादक तथा संवाददाताहरुको छलफल कार्यक्रममा बोल्दै उनिहरुले उक्त कुरा बताएका हुन् ।
कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्दा त्यसको असर पत्रकारिता क्षेत्रमा पर्नु स्वभाविक रहे पनि पत्रकारिताको विकासका लागि सरकारी निकायबाट विनियोजित वजेट समेत परिचालन नभएको र खर्च गरिएको रकम पनि समानुपातिक बितरण नहुदा मिडिया हाउस संकटमा परेको बताए ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण कतिपय पत्रकारहरुको जागिर गएको,कतिपयको जागिर जोखिममा परेको र जागिरमा रहे पनि पारिश्रमिक कम पाएको घटनाहरु सार्वजनिक भए पनि त्यसबारे पिडित पत्रकारहरुले खुलेर नबताउदा यो अवधिमा कति पत्रकारहरुले जागिर गुमाए भन्ने एकिन तथ्याङ्क आउन नसकेको उनिहरुको भनाई थियो ।
जोखिमकाबीच पनि पत्रकारहरुले आफ्नो कामलाई निरन्तरता दिनु सकारात्मक भए पनि मिडिया हाउसहरुले पत्रकारहरुको संख्या र पारिश्रमिक कटौती गर्दा पत्रकारहरुमा काम गर्ने जोश जागर हराएको उनिहरुको गुनासो थियो ।
मिडिया हाउसहरुले पत्रकार र पारिश्रमिकमा गरेको कटौतीले उनिहरुमा काम गर्ने जोश जागर हराउने र पत्रकारिताको माध्यमबाट उजागर हुनुपर्ने बिषयहरु उजागर नहुने र जनता सूचनाको हकबाट बञ्चित हुनसक्ने उनिहरुले चिन्ता व्यक्त गरे ।
मिडिया क्षेत्रको विकासमा काम गर्दै आएको पाल्पा विकास केन्दको आयोजनामा भएको कार्यक्रममा केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले कोरोनाका कारण लुम्बिनी प्रदेशमा परेको असरबारे प्रकास पार्नु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष भरत केसी,महासंघका रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे,सचिब राम प्रसाद आचार्य,अग्रज पत्रकार माधव नेपाल,दामोदर खनाल,यमलाल भुसाल,बिष्णु घिमिरे,कृष्ण मल्ल,पत्रकारहरु प्रकाश खनाल,लक्ष्मण पोखरेल,विनोद परियार,कल्पना तिवारी,युवराज कंडेल,एनवी कंडेल लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो ।