गुल्मीको मालिका गाउँपालिकामा निर्माणाधीन विद्यालय भवन तोडफोड

गुल्मी,९ पुस ।
गुल्मीको मालिका गाउँपालिका वडा नं ७ घमिरको देवीस्थान माध्यमिक विद्यालयको निर्माणाधीन भवनमा बुधबारराति अज्ञात समूहले तोडफोड गरेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण शिक्षाबाट बन्दै गरेको विद्यालय भवनमा तोडफोड भएको हो ।

विद्यालयको निर्माणाधीन भवनमा बुधबारराति अज्ञात समूहले तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाबाट निर्माणाधीन ४ कोठे विद्यालय भवनको दुईवटा कोठा, ४ वटा झ्याल र भौतिक संरचनामा तोडफोड भएको प्रधानाध्यापक बुढाथोकीले बताउनुभयो ।

निर्माणाधीन भवनको हाल सम्म ३५ प्रतिशत काम सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, शिक्षा इकाइका प्रमुख पीताम्बर पन्थीले जानकारी दिनु भयो ।

घटनाबारे घटनास्थल मुचुल्का तयार पारी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले बताउनुभयो ।

त्यस क्षेत्रमा यस अघि पनि वडा कार्यालय तोडफोड गरी नगद र ल्यापटप चोरी भएको थियो ।

You might also like