प्रधानमन्त्री ओलीमा दक्षिणपन्थी विचलन–नेकपा दाङ


प्रतिक्रियावादी शक्तिबाट परिचालित भएको आरोप

बुटवल,९ पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं साबिक नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलको गृह जिल्ला दाङ नेकपा संसद विघटनको बिपक्षमा उभिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विस्वास पात्रको रुपमा चिनिएका मुख्यमन्त्री पोखरेलको गृह जिल्ला दाङ जिल्ला कमिटीको नेतृत्वले सर्वसम्मत प्रतिनिधि सभा विघटन गर्ने कदमको भत्र्सना गर्दै त्यस बिरुद्ध उत्रिने निर्णय गरेको हो ।

संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानीक कदम भएको भन्दै नेकपा दाङले प्रधानमन्त्री ओलीमा दक्षिणपन्थी विचलन आएको र प्रतिक्रियावादी शक्तिबाट परिचालित भएको आरोप लगाएको छ ।

नेकपा दाङ इन्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टिकाराम खड्का र सचिव तुल्सीराम पुनले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनमाथि गद्दारी गरेको भन्दै यसविरुद्ध एकजुट हुन र पार्टी एकताबाट विचलित नहुन कार्यकर्तालाई अपील गरेका छन् ।

प्रधानमन्त्री ओली समूहले अल्पमत केन्द्रीय सदस्यको बैठक बसी केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै दाङ नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्काले केन्द्रीय सदस्य पद अस्विकार समेत गरेका छन् । पार्टी फुटाउने कुत्सित उद्देश्यले अल्पमत सदस्यहरुको बैठक बसेर आफूखुशी केन्द्रीय सदस्य मनोनित गरिएको भन्दै उनले उक्त पद अस्वीकार गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीका बिश्वास पात्रकारुपमा रहेका शंकर पोखरेलको गृह जिल्लाबाट आएको यस्तो बिज्ञप्तिले ओली समूहलाई धक्का लागेको छ । जनसंगठनका आधारमा यसै पनि पोखरेल दाङमा कमजोर मानिन्छन् । पूर्व माओबादीको बलमा गत निर्वाचनमा पोखरेलले दाङबाट प्रदेशसभामा जितेका थिए ।

You might also like