स्थायित्व, समृद्धि, विकास र सुशासनकालागि विघटित प्रतिनिधिसभा पुनःस्थापना– तिलोत्तमा नगर प्रमुख घिमिरे

बुटवल,९ पुस ।
रुपन्देहीको तिलोत्तमा नगर कार्यपालिकाले विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेको छ ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी मुलुकमा स्थायित्व, समृद्धि, विकास र सुशासनकालागि विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नुभएको हो ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले संविधानको मर्म र जनभावना विपरीत सार्वभौंम प्रतिनिधिसभा विघटन गर्नुभएकोमा तिलोत्तमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमले संविधान र लोकतन्त्रलाई गम्भीर आघात पुर्याएको जनाइएको छ ।

संसद विघटनले देशमा राजनीतिक अस्थिरताको पुनरावृत्ति गरेको अनुभूति भैरहेको जनाउदै विज्ञप्तिमा यसले आम जनतामा निराशा छाएको उल्लेख छ ।

मध्यावधि चुनावका लागि खर्च हुने अर्बौं रकम स्वास्थ्य, भौतिक तथा सामाजिक विकास निर्माणका कार्यमा लगाउन उपयुक्त हुने भन्दै नगर प्रमुख घिमिरेले विकास बजेट कटौती गरेर गरिने मध्यावधि चुनाव नेपाली जनताको हीत विपरीत रहेको जनाउनु भएको छ ।

You might also like