नेविसंघद्वारा सर्वोच्च अदालत बाहिर प्रदर्शन,५ जना पक्राउ

काठमाडौ,१० पुस ।
सर्वोच्च अदालतमा संसद विघटन बिरूद्वको रिटमाथिको सुनुवाइ भइरहेको बेला अगाडि नाराबाजी भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी गरेका थिए ।

सर्वोच्च क्षेत्र वरपर सुरक्षा व्यवस्था कडा छ । यो निषेधित क्षेत्र पनि हो । तर, सुरक्षाकर्मीको आँखा छल्दै केही युवाहरु सर्वोच्च अदालतको मुख्य गेट अगाडि नै प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले ‘असंवैधानिक कदम खारेज गर’ लेखिएको प्लेकार्ड र नेविसंघको झण्डा बोकेका थिए । उनीहरुले ‘केपी ओली मुर्दावाद’को नारा लगाएका थिए । तर तत्कालै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो । नेविसंघका नवराज त्रिपाठीसहित ५ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेपछि सरकारको सर्वत्र विरोध भइरहेको छ ।

You might also like