प्रम ओलीमाथि तीन पूर्व प्रमको आरोपको बर्षा ः गोर्भाचोभदेखि गोमन सापसम्म !


अहिलेको लडाइँ दासता र स्वाधीनताबीच, लोकतन्त्र र अधिनायकवाद बीच, कम्युनिष्ट विचार र सामन्ती सोचबीच–नेपाल

काठमाडौं,११ पुस ।
नेकपाको प्रचण्ड–नेपाल समूहमा रहेका तीन पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आरोपको बर्षा गर्नुभएको छ ।

संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको कदम र नेकपाको दुई तिहाई बहुमत सदस्यहरुको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँहरुले आरोपको बर्षा गर्नुभएको हो ।

उहाँहरुले प्रधानमन्त्री ओलीलाई गोर्भाचोभदेखि गोमन सापसम्मको आरोप लगाउनु भयो ।
पार्टीका अर्का अध्यक्ष प्रचण्ड भन्दा एक कदम अगाडि बढेर माधव नेपाल र झलनाथ खनालले ओलीलाई कठोर आरोपहरु लगाउनु भयो । पत्रकारहरुको प्रश्नमा छोटो जवाफ दिनु भएका नेपालले ओलीमाथि आरोपका वर्षा नै गर्नुभयोे ।

कतिसम्म भने नेपालले ओलीलाई नेपालमा कम्युनिष्ट आन्दोलन नै सिध्याउने पात्रका रुपमा चित्रित गर्दै उनले गोर्भाचोभसँग तुलना गर्नुभयोे ।

‘हाम्रो देशमा पनि गोर्भाचोभको जन्म भएको त छैन ? गोर्भाचोभले सोभियत युनियन र कम्युुनिष्ट पार्टीलाई सिध्याइ नै दिए । हेर्दै जानुहोला, केपी शर्मा ओलीजीले कम्युनिष्ट आन्दोलन सिध्याइदिने हो’, अध्यक्ष नेपालले भन्नुभयो ।

ओलीमा अहम कायमै रहेकाले पतनको बाटोमा जाने नेपालको निष्कर्ष छ । ‘केपी ओली कम्युनिष्ट विचारबाट, आचरणबाट, कम्युनिष्ट शैली, कम्युनिष्ट तौरतरिकाबाट, विचलनका बाटोमा, पतनको बाटोमा छन्’, नेपालको भनाइ थियो ।

ओलीले संघीयता विरोधी, गणतन्त्र विरोधी र जालझेलमा विश्वास गर्नेमा तीनैजना नेताहरुको साझा निष्कर्ष थियो । ‘गणतन्त्र विरोधी मान्छे हो, साक्षी यही छौं, पूर्वएमालेका । गणतन्त्र नेपालमा आउन सक्दैन भनेर फरक मत राख्ने मान्छे (ओली) हो’ माधवले भन्नुभयोे, ‘त्यसो हुँदा गणतन्त्रप्रति कुनै माया ममता छैन । संघीयताको पनि विरोधी हो, उहाँ । लोकतान्त्रिक मूल्य र मान्यतालाई धज्जी उडाइदिनुभएको छ ।’

ओलीलाई नेपालले तानाशाही नै सावित गरे । तानाशाही प्रवृत्ति भएको मान्छेलाई बैठकले एलर्जी हुन्छ । विचार र बहस मन पराउँदैन । आफूले छोड्नुपरे, कुर्सी नै भाँचिदिन्छु भन्छन्, नेपालको भनाइ थियो ।

ओलीमा बा प्रवृत्ति देखिएकाले त्यस विरुद्ध लड्नुपर्ने नेपालको भनाइ थियो, ‘उहाँलाई मनपर्ने एउटै कुरा हो, केपी बा ! केपी बा प्रवृत्तिका विरुद्धमा जुधिएन भने यो संस्कारका विरुद्धमा जुधिएन भने दास भएर बस्नुपर्ने हुन्छ । र, कम्युनिष्ट पार्टीलाई दासता स्वीकार्य छैन ।’

अहिलेको लडाइँ दासता र स्वाधीनताबीच, लोकतन्त्र र अधिनायकवाद बीच, कम्युनिष्ट विचार र सामन्ती सोचबीच भइरहेको अध्यक्ष नेपालको भनाइ थियो ।

अर्का पूर्वप्रधानमन्त्री खनालले त केपी ओलीलाई गोमन सापकै संज्ञा दिनुभयो । ‘एमालेको आठौं महाधिवेशनले मलाई अध्यक्ष बनायो, उहाँ पराजित हुनुभयो । त्यसैको बदला पार्टी एकतापछि लिन थाल्नुभयो’ खनालले उदाहरण नै दिनुभयो ‘उहाँ त गोमन साप नै हुनुहुँदोरहेछ ।’

ओलीमाथि खनालको आरोप पनि भाषा र प्रस्तुति फरक भएपनि अध्यक्ष नेपालसँगै धेरै मिल्दो थियो । नेकपा विभाजन संविधानले नै नदिएकाले ओलीले पार्टी छाडेर जाने खनालको टिप्पणी थियो ।

पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई सधैं जालझेलमा मात्रै विश्वास गर्ने आरोप लगाउनुभयो । पत्रकारहरुको प्रश्नमा प्रचण्डले ओलीकै कारण एमाले विभाजन भएको दाबी गर्नुभयो । ‘नवौं महाधिवेशनपछि माधवजी र ओलीजीको पक्ष रहेछ । एकता भएपछि मेरो जोड यो दुई पक्षबीच कसरी संयोजन गर्ने भन्ने होला भन्ने रहृयो’ प्रचण्डले भन्नुभयो, ‘केपीजीको चाहना माधव पक्षका जिल्लामा पनि नआओस्, केन्द्रमा पनि कम होओस् । प्रदेशमा नरहोस् । जनसंगठनको नेतृत्वमा नआओस् भन्ने चाहने रहृयो ।’

तर, आफूले भने माधव नेपाल पक्षलाई पनि उत्तिकै स्पेस दिन खोजेको उहाँले बताउनुभयो । केपी ओलीलाई त्यही मन नपरेको प्रचण्डले बताए । ‘त्यसकारण एमाले फुटाउने केपीजी हो, म होइन’, उहाँले भन्नुभयो ।

प्रचण्डले ओलीलाई बुर्जुवाको आरोप समेत लगाउनुभयो । ‘बुर्जुवा प्रवृत्तिमा मिठो कुरा गर्दै, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । देख्न पनि सक्दिनँ भन्नुहुन्छ । तर, भ्रष्टाचारीलाई मज्जाले संरक्षण गर्नु हुन्छ, प्रचण्डको भनाइ थियो ।

यसअघि मुल ४४५ मध्ये २९५ केन्द्रीय सदस्य र सांसदहरुको हस्ताक्षर पत्रसहित निर्वाचन आयोगमा पुगेर प्रचण्ड र माधव नेपालले निर्वाचन आयुक्तहरुसँग आफूहरु नै नेकपा भएको दाबी गरे । प्रचण्डले विगतका नजीर र निर्णयहरु सुनाउँदै भने, ‘स–शरीर आउनुपर्ने हो भने पनि स–शरीर आउँछौं । पार्टी एकतापछि बनेको केन्द्रीय कमिटीको दुईतिहाइ हामीसँग छ ।’

प्रचण्डको तर्कलाई बलियो बनाउँदै माधव नेपालले त संविधान लेख्नेहरु नै आएकाले चाँडो वैधानिकता टुंग्याउनुपर्ने अभिव्यक्ति दिनुभयो । ‘नेकपा र निर्वाचन चिन्ह सूर्यमा कसैले आँखा नलगाओस् । दुईवटा त संविधान लेखेको मान्छे यहाँ छौं । मलाई विश्वास छ, प्रचलित कानूनकै आधारमा आयोगले निर्णय लिन्छ ।’, नेपालले भन्नुभयो ।

माइतीघर मण्डलाबाट प्रचण्ड र माधव समूह नारा जुलुसका साथ हिँडेरै आयोगको कार्यालय पुगेको थियो ।

आयोगबाट फर्किएर बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले पुस ८ मा सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नुभएको थियोे ।

चरणवद्ध कार्यक्रम तालिका सार्वजनिक गरेको यो समूहले विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलत सावित गर्ने र आफ्नो समूहलाई सशक्त बनाउने नीति अपनाएको छ ।
नेकपा कसरी विभाजित हुन पुग्यो ? संसद विघटन गर्ने निर्णयमा ओली कसरी पुगे ? जस्ता लामो घटनाक्रमबारे आधा घण्टा बढी समय खर्चिएका प्रचण्डले ओलीलाई संघीयताविरोधी, एउटा भन्ने र अर्को गर्नेजस्ता आरोपहरु लगाउनुभयो ।

You might also like