माओ जयन्ती ः आफुलाई कम्युनिष्ट भन्नेले माओले प्रतिपादन गरेका सिद्वान्तहरु आत्मसाथ गर्नुपर्छ ः– चित्रबहादुर

बुटवल, ११ पुस ।
चिनियां कम्युनिष्ट पार्टीका अध्यक्ष माओको १२८ औं जयन्ती शनिबार रुपन्देहीमा पनि मनाइएको छ ।

विभिन्न कम्युनिष्ट घटकमा आवद्व कम्युनिष्ट पार्टीले शनिबार छुट्टाछुट्टै कार्यक्रम गरी माओजयन्ती मनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी मसालले बुटवलमा १२८ औं माओ जयन्ती मनाएको छ । सो अवसरमा बोल्ने कम्युनिष्ट नेताहरुले आफुलाई कम्युनिष्ट भन्नेले माओले प्रतिपादन गरेका सिद्वान्तहरु आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।

माक्र्सवादलाई नमान्ने नामधारी कम्युनिष्टका कारण कम्युनिष्ट आन्दोलन बदनाम भएको उनीहरुको भनाइ छ ।

कार्यक्रममा कम्युनिष्ट नेता चित्रबहादुर केसीले सजिलै जनवादी क्रान्ति नहुने बताउंदै चीनमा माओले चलाएको लामो अभियान नेपालको कम्युनिष्ट आन्दोलनमा आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

उहाँले कम्युनिष्टको नीति, सिद्वान्त, अनुसासन, आचरण नमान्ने र कम्युनिष्टको नाममा बेथिति गर्ने नक्कली कम्युनिष्टबाट सचेत भएर जनवादी क्रान्तिको बाटोमा लाग्नु पर्ने बताउनुभयो ।

कम्युनिष्ट पार्टीमा अध्ययन गर्ने बानी हराएको उल्लेख गर्दै केसीले आवश्यकताले कम्युनिष्ट जन्माएकाले नेपालमा कम्युनिष्टको भूमिका बढेको धारणा राख्नु भयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहनु भएका नेता केसीले संसद विघटनमा ओलीको मात्र चाहाना नभइ अमेरिका, भारत र युरोपियन युनियनहरुको चाहानामा संसद विघटन भएको दावी गर्नुभयो ।

वापन्थी नेता कृष्णराज पौडेलले चीनमा माओले चलाएको सर्वहारा सांस्कृतिक क्रान्तिलाई नेपालको कम्युनिष्ट आन्दोलनमा प्रयोगमा ल्याउनु पर्ने बताउनुभयो ।

चीनमा भएको प्रतिक्रान्तिले संसारको कम्युनिष्ट आन्दोलनमा असर परेको उल्लेख गर्दै उहाँले त्यसबाट पाठ सिकेर जनवादी क्रान्तिबाटो उत्तम हुने उल्लेख गर्नुभयो ।

कम्युनिष्टको नाममा बनेको दुई तिहाइ नजिकको ओली नेतृत्व सरकार असफल भएको उल्लेख गर्दै उहाँले दुई तिहाई पाएको बेला पनि सरकार चलाउन नसकेर संसद विघटन गर्ने ओलीको कदम प्रतिगामी भएको टिप्पणी गर्नुभयोे ।

वामपन्थी नेता सुरेश थापाले माओले प्रतिपादन गरेका सिद्वान्त प्रयोगमा नआएकाले नेपालको कम्युनिष्ट आन्दोलनमा विचलन र भड्काव आएको बताउनुभयो ।

कार्यक्रममा तराई– मधेश जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, सांसद तारा जीसी, लोकराज भुसाल लगायतले माओबारे आआफ्ना भनाई राख्नुभएको थियो ।

वामपन्थी नेता चेतनाथ आचार्यको अध्यक्षता र नेकपा मसाल रुपन्देही प्रवक्ता नारायण जीसीको अध्यक्ष्तामा कार्यक्रम सम्पन्न भएको थियो ।

You might also like