केन्द्रको बिवादले लुम्बिनीमा प्रदेश सरकारमा असर पर्दैन ः प्रवक्ता चौधरी दुवै समूह मिलेर सरकार सञ्चालन गर्ने रणनीतिमा

बुटवल,१३ पुस ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले नेकपा भित्र केन्द्रमा देखिएको बिवादका कारण तत्काल प्रदेश सरकार फेरबदल तथा पुनर्गठन नहुने बताउनु भएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चौधरीले पार्टी भित्रको आन्तरिक बिवादका कारण तत्काल सरकार फेरबदल तथा पुनर्गठन नहुने बताउनु भएको हो ।

१० दिनको अन्तरमा बसेको प्रदेश मन्त्रीपरिषदको बैठकमा सबै मन्त्री सहभागि भएको र बैठकमा पार्टी भित्रको आन्तरिक बिवादको बिषयमा कुरै नउठेको भन्दै मन्त्री चौधरीले प्रदेश सरकारले अगाडी सारेका कार्यक्रमलाई तिब्रताकासाथ अगाडी बढाउनुपर्नेमा मुख्यमन्त्री शंकर पोखरेलले जोड दिएको जानकारी दिनु भयो ।

पार्टी भित्र देखिएको बिवादको बिषयमा बैठकमा कुनै कुरा नउठेको भन्दै मन्त्री चौधरीले केन्द्रमा देखिएको बिवादका कारण तत्काल प्रदेशमा सरकार फेरबदल र कसैलाई मन्त्रीबाट नहटाउने बताउनु भयो ।

केन्द्रमा भएको बिभाजनसँगै लुम्बिनी प्रदेशमा दुई समूह क्रियाशील रहे पनि दुवै समूहबाट तत्कालका लागि कुनै कदम नचाल्ने रणनीति अख्तियार गरेकोले तत्कालका लागि प्रदेश सरकार फेरबदल हुने तथा मन्त्रीपरिषद पुनर्गठन हुने सम्भावना टरेको हो ।
प्रदेश सरकारका प्रवक्ता चौधरीले केन्द्रमा देखिएको पार्टी बिभाजनको असरका कारण प्रदेश सरकार फेरबदल नहुने र कुनै मन्त्रीलाई बर्खास्त नगर्ने बताएका बेला अर्को समूहका एक मन्त्रीले पनि मुख्यमन्त्रीले नहटाएसम्म सरकारबाट नबाहिरिने प्रतिक्रिया दिए ।

दुई खेमाका दुई मन्त्रीको अभिव्यक्तिले दुई समूहमा बिभाजित भए पनि प्रदेशमा मिलेर सरकार सञ्चालन गर्ने बिषयमा दुवै समूह सहमत भएको बुझ्न सकिन्छ ।

पार्टी भित्रको आन्तरिक बिवादका कारण बागमती प्रदेश र प्रदेश नं १ सरकार बिरुद्ध अबिस्वास प्रस्ताव दर्ता भैरहेका बेला लुम्बिनी प्रदेशमा भने त्यसको खासै असर नदेखिएको हो ।

६ सदस्सीय लुम्बिनी प्रदेश मन्त्रीपरिषदमा मुख्यमन्त्री पोखरेल सहित चार जना केपी ओली र दुई जना प्रचण्ड–नेपाल समूहका मन्त्री रहेका छन् ।

प्रदेश सभामा पूर्व एमालेका ४१,पूर्व माओवादीका २० गरी नेकपाका ६१ जना,नेपाली कांग्रेसका १९ जना,जनता समाजवादीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ८७ सदस्य रहेका छन् ।

पूर्व माओवादीका २० जना प्रदेश सभा सदस्य प्रचण्ड–नेपाल समूहमा खुले पनि पूर्व एमालेका बिष्णु पन्थी बाहेक अरु कोही पनि प्रचण्ड–नेपाल समूहमा खुलेर नलागेकोले पनि लुम्बिनी प्रदेशमा सरकार तत्काल परिवर्तन हुने सम्भावना कम देखिएको छ ।

यसैबीच सोमबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले दाङको तुल्सीपूर उपमहानगरपालिका र स्पेनको भिक्टोरीया प्रान्त स्थित विलवाओ नगरपरिषदसँग भगिनी सम्बन्ध कायम गर्न संघीय सरकारलाई सिफारीस गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिनु भयो ।

You might also like