प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन, ठाउँ–ठाउँमा ¥याली र सभा

काठमाण्डौ,१३ पुस ।
प्रतिनिधि सभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) राजधानी काठमाण्डौ सहित देशभर विरोध प्रदर्शन गरेको छ ।

भक्तपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवाले संसद् विघटन गर्ने सरकारको कदमबारे असंबैधानीक रहे पनि अदालतमा मुद्दा विचाराधीन रहेकाले पुनःस्थापनाको पक्ष वा विपक्षमा नबोल्ने बताउनुभयो ।

कांग्रेस न्यायालयलाई मान्ने पार्टी भएकाले अदालतमा विचाराधीन मुद्दामा कुनै पनि पक्षमा नबोल्ने बताउदै देउवाले ’अदालतमा विचाराधीन मुद्दा जो छ त्यसमा हामी केही बोल्ने छैनौं, न यता न उता ।

अदालतलाई धम्क्याएर, तर्साएर निर्णय गराउने होइन, ।’ सरकारले बदमासी गर्न सक्ला, संसद्ले बदमासी गर्न सक्ला तर अन्तिम निकाय भनेको न्यायालय हो । न्यायालयबाट जे निर्णय हुन्छ, त्यो मान्नैपर्छ र मान्दै आएका छौं ।’ देउवाले भन्नुभयो ।
सरकारको कदमको विरोध गर्ने तर त्यसबारे अदालतले जस्तो निर्णय दिएपनि स्वीकार गर्ने सभापति देउवाको भनाई थियो ।

कोरोना महामारी चलिरहेकाले कम्तिमा ’दुई गज’को दुरी राखेर प्रदर्शन गर्न पनि उहाँले कार्यकर्ताहरूलाई सुझाउनुभयो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अफगानिस्तान जस्तो बन्नबाट जोगाउन सर्वोच्च अदालतले मात्र सक्ने बताउनु भएको छ ।

कांग्रेस तनहुँले निर्वाचन क्षेत्र नम्बर १ को दमौली र निर्वाचन क्षेत्र नम्बर २ को भिमादमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उहाँले सरकारले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र अदालतले त्यसलाई सच्याउने विश्वास व्यक्त गर्नुभयो ।

‘यो देशलाई विखण्डनमा पुग्न नदिन, यो मुलुकलाई अफगानिस्तान जस्तो बन्न नदिन अझै पनि सर्वोच्च अदालतले रोक्न सक्ने विश्वास छ’, नेता पौडेलले भन्नुभयो, ‘सर्वोच्चका न्यायमूर्तिहरुलाई एकपटक संविधानलाई राम्रोसँग पढिदिन, यो संविधानको अक्षर, यो संविधानको भावना र विधिदाताको मनासय बुझिदन आग्रह छ ।’

‘सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनै पर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ’, नेता पौडेलले भन्नुभयो, ‘मुलुकलाई संकटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना गरी संविधानको सर्वोच्चतालाई जोगाउनु पर्छ । यो अवस्थामा मुलुकले निर्वाचन खर्च समेत धान्न नसक्ने अवस्थामा छ ।’

‘नेपाल कम्युनिष्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् हो’, उहाँले भन्नुभयो ‘संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्था नै नभएको कुरा सरकारले गरेको र संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ ।’

मुलुक शक्तिकेन्द्रको खेलवाड गर्ने स्थल बन्दै गएको बताउँदै नेता पौडेलले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री र राष्ट्रपतिले मात्र होइन यसको पछाडि अन्यको पनि भूमिका रहेको र यो कसरी भएको छ, बिना बादल वर्षा ? यो अहिले सम्भवनै नभएको कुरा कसरी विघटन भयो ? यसले गम्भिर प्रश्न उठाएको उहाँको भनाई थियो ।
विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले मुलुक इतिहासकै जटिल अवस्थामा पुगेको बताउनु भयो । सो विरोध सभामा कांग्रेसका केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई, प्रदीप पौडेल लगायतका नेता कार्यकर्ताहरुले पार्टीमा केही कमजोरी रहे पनि दबाबपूर्ण आन्दोलन गर्न सके मात्र लोकतन्त्र बच्ने दाबी गर्नुभएको थियो ।

उता काठमाडौं क्षेत्र नम्बर १ मा आयोजना गरिएको बिरोध सभामा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले असंवैधानिक रूपमा सरकारले अगाडि सारेको प्रतिनिधिसभा विघटनको प्रस्ताव स्वीकृत गरेर राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको पालना र संरक्षण गराउने भूमिका पूरा गर्नबाट चुकेको बताउनु भयो ।

संविधानले दिएको जिम्मेवारी पूरा गर्नबाट राष्ट्रपति भण्डारी चुकेको बताउदै सिंहले– ’राष्ट्रपतिले पनि मुख्य कर्तव्य नेपालको संविधान पालना गराउने र संरक्षण गर्ने जिम्मेवारी पूरा नगरी संसद विघटनलाई स्वीकृति दिनुभयो,।

प्रमुख प्रतिपक्षी दलको हैसियतले कांग्रेसले आफ्नो नेतृत्वमा बनेको संविधान मृतप्राय बनिरहेको हेरेर बस्न नहुने नेता सिंहको भनाइ छ । ’यो कदम सच्याउनुपर्छ । आफ्नो नेतृत्वमा जारी गरेको संविधान मृतप्रायः बनेको हामी टुलुटुलु हेरेर, चुप लागेर बस्दैनौं ।’

प्रधानमन्त्री ओलीले संवैधानिक कू गरेको भन्दै सिंहले अब कांग्रेस चुप लागेर नबस्ने बताउनु भयो ।

त्यस्तै विराटनगरमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस ओलीको मतियार हुन कुनै पनि हालतमा सरकारमा सहभागी नहुने प्रष्ट पार्नुभयो ।

नेता कोइरालाले अहिलेको अबस्थामा कुनै दलको सारथि बनेर ओलीको कदमको विरोधमा काग्रेसले सडक आन्दोलन गर्नको औचित्यसमेत नहुने धारणा राख्नुभयो ।

‘कांग्रेस ओलीको असंवैधानिक कदमको डटेर सामना गर्ने सामर्थ्य राख्न सक्छ’ कोइारालाले भन्नुभयो, ‘सडक सघर्षमा जाने कुरामा काग्रेस आफनौ खुट्टामा उभिनु आवश्य छ ।’ ओलीको असंवैधानिक कदमलाई सडक संघर्षमार्फत कांग्रेसले संवैधानिक बनाउनेछ ।’

कांग्रेसले कम्युनिस्टलाई लामो समयदेखि लोकतान्त्रिक बनाउन प्रयास गरे पनि उनीहरुले निरंकुशता छाड्नै नसकेको दृष्टान्त ओलीको कदम भएको नेता कोइरालालको भनाइ थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य डा. डिला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले कांग्रेस प्रदेश नम्बर–१ का प्रमुख सचेतक केदार कार्कीले,प्रदेश सांसद् चुमनारायण तबदारले ओलीको असंवैधानिक कदम स्वीकार नभएको बताउनु भएको थियो ।

देशका एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन भएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गर्नुभएसँगै नेपाली कांग्रेसलगायत अरू दल र नेकपाभित्रैबाट विरोध भइरहेको छ ।

You might also like