अहिलेको अवस्थामा संसद बिघटन गर्नु राजनीतिक अपराध ः बरिष्ठ पत्रकार दाहाल

बुटवल,१३ पुस ।
वरिष्ठ पत्रकार राजेन्द्र दाहालले संसद बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम राजनीतिक अपराध भएको बताउनु भएको छ ।

आउटलाइन मिडियाद्धारा सोमबार बुटवलमा आयोजित कोरोना महामारीमा पत्रकारीतामा परेको असरबारे पत्रकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै दाहालले कोरोना संक्रमणको जोखिमबाट जनतालाई बचाउन छाडेर प्रधानमन्त्री ओलीले संसद बिघटन गरी राजनीतिक अपराध गरेको बताउनु भएको हो ।

देश र जनतालाई माया गर्ने प्रधानमन्त्रीले यस्तो कदम चाल्न नसक्ने भन्दै पुर्व राष्ट्रपति डा. रामवरण यादवका सल्लाहकार समेत रहनु भएका दाहालले कोरोनाको जोखिमबाट जनतालाई मुक्त गर्दै त्यसले मुलुकको अर्थतन्त्रमा पारेका असरहरुलाई कसरी कम गर्न सकिन्छ भन्ने तर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा संसद बिघटन गरेर प्रधानमन्त्री ओलीले राजनीतिक अपराध गरेको दाबी गर्नुभयो ।

कोरोना महामारीका बेला पनि सरकारले संक्रमितलाई अन्तिम अवस्थामा मात्रै अस्पताल आउन र अन्यथा घरमै बस्न निर्देशन दिएर सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिने काम गरेको भन्दै दाहालले सरकारको उक्त निर्णयसँगै अस्पतालका बेड खाली हुने र संक्रमितहरु उपचार अभावमा घरमै मृत्यु हुने अवस्था आएको बताउनु भयो ।

महामारीसँगै पत्रकारहरुलाई अवसर र चनौती दुबै आएको बताउदै उहाँले महामारीलाई अवसरको रुपमा उपयोग गर्ने भन्ने बिषयमा चनाखो हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा आउटलाइन मिडियाका सरोज दाहालले महामारीको उच्च जोखिम र अन्यौलताकाबीच पत्रकारहरुले आफ्नो कामलाई निरन्तरता दिएको भन्दै महामारीलाई अवसरको रुपमा उपयोग गर्नुपर्ने आवस्यकता औल्याउनु भयो ।

सो अवसरमा वरिष्ठ पत्रकार बालकृष्ण चापागाई,लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरीटेण्डेण्ट राजेन्द्र खनाल पत्रकार दीपक ज्ञवाली,दामोदर खनाल,भवानी प्रसाद पाण्डे,लक्ष्मण पौडेल,सञ्जु पौडेल
लगायतले कोरोना महामारीकाबीच आ आफ्ना अनुभव र भोगाई बारे जानकारी गराउनु भएको थियो ।

You might also like