संसद बिघटन ः प्रचण्ड–माधव समूहले आज देशभर विरोध प्रदर्शन गर्दै

काठमाण्डौमा ५० हजार कार्यकर्ता उतार्ने,बुटवलमा पनि हजारौं सहभागि हुने दाबी

काठमाडौं,१४ पुस ।
संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गर्दै छ ।
सो समूहले केन्द्रीय राजधानी काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ ।

बिरोध प्रदर्शनका क्रममा बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने जनाइएको छ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस निस्किने छ ।

यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिनुभयो ।
नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल तथा नेकपाकै अर्का प्रभावशाली नेता घनश्याम भुसालको
गृह जिल्ला रुपन्देहीको बुटवलमा पनि प्रचण्ड–नेपाल समूहले प्रदर्शनको तयारी गरेको छ ।
दिउसो १ बजे बुटवलको राजमार्ग चौराहबाट सुरु हुने बिरोध प्रदर्शनमा हजारौ कार्यकर्ताको सहभागिता रहने सो समूहका नेताले बताएका छन् ।
सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दैनिकजसो आन्दोलन हुँदै आएको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन् । संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा बहस चलिरहेको बेला निर्वाचन आयोग पनि नेकपाको आधिकारिकता विवाद टुंग्याउने तयारीमा छ ।

You might also like