संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक,अलोकतान्त्रिक र अराजक ः कांग्रेस नेता खाँण

बुटवल,१४ पुस ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँणले सर्वसत्तावाद र अधिनायकवादको यात्रामा बाधक हुने देखेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको आरोप लगाउनु भएको छ ।

कोरोना महामारीमा देखिएको असफलता लुकाउन र सरकारले गरेका ठूला भ्रष्टाचारको बिषयमा संसदमा उठ्ने प्रश्नको सामना गर्न नसक्ने भएपछि प्रधानमन्त्री ओलीले हठात संसद बिघटन गरेको उहाँको आरोप छ ।

प्रेस युनियन रुपन्देहीले मँगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खाँणले आफ्नो असफलता ढाकछोप गर्न तथा सरकारले गरेका भ्रष्टाचारको बिषयमा संसदमा उठ्न सक्ने प्रश्नको जवाफ दिनसक्ने अवस्था नदेखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको बताउनु भएको हो ।

संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंबैधानीक,अलोकतान्त्रिक र अराजक भएको बताउदै खाँणले मुलुकमा एकदलिय सर्वसत्तावाद लाद्न प्रधानमन्त्री ओलीले संसद विघटनगरेको आरोप लगाउनु भयो ।

नेता खाँणले भन्नुभयो ‘एक दलीय सर्वसत्तावाद ल्याउने र सरकारले गरेका ठूला(ठूला भ्रष्टारहरु लुकाउन संसद विघटन गरियो ।’ संसदमा उठ्ने भ्रष्टारका मुद्दाहरुमा प्रश्न उठ्ने र जवाफ दिन सक्ने अवस्था नभएपछि संसद विघटन गरिएको उहाँको आरोप छ ।

यसअघिका सरकारले गरेका सिफारिस बर्षौसम्म थन्क्याएर राख्ने राट्रपति विद्यादेवी भण्डारीले बर्तमान सरकारले सिंहदरवारमा निर्णय गरेको केहि मिनेटमै स्वीकृत गर्ने गरेको भन्दै कांग्रेस नेता खाँणले राष्ट्रपतिको भूमिका पनि स्वतन्त्र र निष्पक्ष नभएको टिप्पणी गर्नुभयोे ।

संविधानमा राष्ट्रपतिको भूमिका आलंकारीक भएको बताउदै खाँणले बर्तमान राष्ट्रपति सिंहदरवारको रबरस्ट्याम्प जस्तै देखिएको बताउनुभयो ।

प्रधानमन्त्रीले सिफारिस गरेकै भरमा संसद बिघटन गर्ने जस्तो गहन बिषयमा सम्बन्धित बिषयका विज्ञ तथा ज्ञाताहरुसँग सल्लाह नगरी स्वीकृत गर्नुले राष्ट्रपति कार्यालयमा रहेका बिभिन्न बिषयका विज्ञ सल्लाहकारको आवस्यकता र औचित्यतामाथीनै प्रश्न उठेको खाँणको भनाई थियो ।

प्रधानमन्त्रीले राष्ट्रपतिसँग संसद बिघटनको सिफारिस लैजानु र राष्ट्रपतिले विचारै नगरी स्वीकृत गर्र्नु असंवैधानिक भएको बताउँदै उनले नेपाली कांग्रेसले संविधानको पक्षमा आवाज उठाउने बताए ।

आगामी वैशाखमा गर्ने भनिएको निर्वाचन असम्भव भएको बताउँदै उहाँले सरकारले चुनाव गराउनका लागि नभएर आन्दोलन र चुनाव प्रचारको नाउमा भिडभाड गराई कोरोनाको महामारी फैलाएर कोरोनाको बहानामा संकटकाल लगाउने रणनीतिमा प्रधानमन्त्री ओली लागेको खाँणको दाबी थियो ।

प्रधानमन्त्री ओलीले सुरुदेखिनै संविधानको बर्खिलाप हुने काम गर्दै आएको भन्दै खाँणले भन्नुभयो–‘प्रधानमन्त्रीले सुरुदेखि नै संविधानको बर्खिलाप काम गर्दै आउनु भएको छ ।’ ‘सबैभन्दा पहिले प्रेस, मानव अधिकार र राष्ट्रिय सुरक्षा परिषदमा हस्तक्षप भयो । प्रधानमन्त्री आफै संविधान तोडफोड र तोडमोडमा लाग्नु दुर्भाग्यपूर्ण हो ।’

युनियनका रुपन्देही सभापति रेखा भुसालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिब श्यामशंकर पाण्डेले गर्नुभएको थियो ।

You might also like