वैशाखपछि केपी ओलीको प्रधानमन्त्री पद रहँदैन ः प्रचण्ड


श्री ३ महाराजधिराज बन्ने सपना नदेख्न ओलीलाई चेतावनी

काठमाडौं,१४ पुस ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्री ३ महाराजधिराज हुन्छु भन्ने सपना नदेख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिनु भएको छ ।
वैशाखपछि ओली प्रधानमन्त्री पनि नरहने भन्दै प्रचण्डले प्रधानमन्त्री नभएपछि श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ ? भन्ने प्रश्न गर्नुभयो ।

प्रचण्डले भन्नुभयो प्रधानन्त्री ओली प्रधानमन्त्री रहँदैनन्, अनि उनीले नै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ ।’

ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै प्रचण्डले चुनावको भ्रममा नपर्न आग्रह गर्नुभयोे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र ओली पक्षतर्फ इङ्गित गर्दै प्रचण्डले भन्नुभयो–‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’ त्यो दुश्वस्न मात्रै हो ।

संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहद्धारा मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘त्यो दुश्वस्न हो भन्ठान्छु । हुनेबाला चुनाव घोषणा भएकै होइन ।’

चुनाव घोषणा गर्ने प्रधानमन्त्री स्वयं केपी शर्मा ओलीलाईनै चुनाव हुन्छ भन्नेमा भरोसा नभएको आफूले थाहा पाएको भन्दै प्रचण्डले छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गर्दै ओलीका कारण जनतालाई सुख कम, दुःख ज्यादा पाएको, मान कम, अपमान ज्यादा सहेको बताउनु भयो । उहाँले ओलीले म्यानुपुलेसनमा विश्वास गर्ने गरेको र एकै दिन धेरै कार्ड खेल्ने गरेको टिप्पणी गर्नुभयो ।

नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको आरोप लगाउनुभयो ।

ओलीले पार्टीलाई भ¥याङ मात्र बनाएको भन्दै खनालले भन्नुभयो, ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् बनाउनुभयो, नीति कार्यक्रम ल्याउनुभयो ।’

‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’ उहाँले अघि भन्नुभयोे ।

काम गर्न नसकेको भनेर आफूहरुले प्रश्न गर्दा प्रधानमन्त्री ओलीले विश्व चकित हुने काम गरेको दाबी गर्ने गरेको बताउनुभयो । ओलीले सडक र पुललाई समाजवाद देखेको र पछिल्लो समय त मैले रानी पोखरी बनाएँ भन्न थालेको उहाँको टिप्पणी थियो ।

प्रधानमन्त्री ओलीले मरिचमान श्रेष्ठ र नगेन्द्रप्रसाद रिजालले जत्ति पनि काम गर्न नसकेको खनालको आरोप छ । उहाँले भन्नुभयोे, तीन वर्ष खेर गयो । मरिचमानले गरेजत्ति पनि काम गर्न सकेनन् ।’
त्यस्तै नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रतिगमन नसच्चिँदासम्म सडक नछाड्ने बताउनु भयो ।

नेता भट्टराईले यो कार्यक्रम आफूहरु सडकमा आएको जनाउ दिन मात्र भएको बताउनुभयो । जनप्रदर्शनमा उल्लेख्य सहभागिता रहेको भन्दै उहाँले भन्नुभयो, ‘जुन दिनसम्म प्रतिगमन सच्चिँदैन, संविधान सही ठाउँमा आउँदैन, प्रतिनिधिसभाको बैठक आह्वान गरिँदैन, हामी सडक छाड्दैनौं ।’

You might also like