भ्रष्टाचार र बेथितिमा ओली सरकारको उल्लेख्य प्रगति ः उपेन्द्र यादव
भैरहवा,१४ पुस ।
जनता समाजवादी पार्टीका अध्यक्ष एवम पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले ओली सरकारले भ्रष्टाचार र बेथितिमा उल्लेख्य प्रगति गरेको बताउनु भएको छ ।
मंगलबार भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले ओली सरकारले भ्रष्टाचार र बेथितिमा उल्लेख्य प्रगति गरेको बताउनु भएको हो ।
बाईडबडी काण्ड, नेपाल ट्रष्टलाई कौडीको भाउमा दिएर, बालुवाटारको जग्गा नै बिक्रि गरेको र मुलुक कोरोना त्रासमा हुदा ओम्नी लगाएर नक्कली औषधी भित्रयाएर ओली सरकारले उल्लेख्य प्रगति गरेको यादवको टिप्पणी थियो । पहिलेको शाही परिवार र अहिलेको ओली सरकार दुवै समान भएको बताउदै उहाँले रोयलिष्ट र कम्युनिष्ट एउटै भएको दावी गर्नुभयोे ।
उहाँले अहिले ओली सरकारले चालेको कदम संवैधानिक मुद्दा नभई राजनैतिक मुद्दा भएको बिचार व्यक्त गर्नुभयो ।
राजनैतिक मुद्दा भएका कारण यसलाई राजनैतिक हिसाबले नै समाधान गर्नु पर्ने उहाँको तर्क थियो । उहाँले नेपालीहरु बिच भावनात्मक एकता नभए सम्म मुलुक कुनै पनि हालतमा सुधार हुन नसक्ने भन्दै यादवले जनता समाजवादी पार्टी अहिले नेपालीहरुको भावनात्मक एकताको प्रयास गर्न र बिभेदलाई समाप्त पार्न शक्ति सञ्चयमा लागेको बताउनुभयो ।
कार्यक्रममा पूर्व संविधान सभा सदस्य सीमा कौशल एवम राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश प्रवक्ता रवि कुमार रौनियार लगायत २ सय ६९ जनाले पार्टी प्रवेश गरेको जसपाका केन्द्रिय सदस्य देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
रौनियार केही दिन अघि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट असन्तुष्टि जनाउदै राजीनामा दिनुभएको थियो । यता राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रुपन्देहीले पनि रौनियारले पार्टी नियम विपरीत कार्य गरेको जनाउदै उनलाई पार्टीबाट निस्कासित गरेको जनाएको थियो ।