वैशाखमा चुनाव हुँदैन, वैशापछि ओली पनि प्रधानमन्त्री रहँदैनन् ः वर्षमान पुन

रोल्पा, १५ पुस ।
निवर्तमान उर्जा मन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त) ले वैशाखमा चुनाव नहुने र वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् ।

बुधबार गृहजिल्ला रोल्पाको लिवाङमा पत्रकारहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको दाबी गरे ।
झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान र आफ्नै राजनीतिक जीवन धरापमा पारेको समेत उहाँले बताउनुभयो ।

इतिहासको दिशालाई उल्ट्याउन खोज्दा ओलीको राजनीतिक जीवन नै धरापमा परेको भन्दै पुनले भन्नुभयोे, ‘अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ ।’

यद्यपि ओलीले संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको उहाँको आरोप छ ।

जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न प्रधानमन्त्री ओलीलाई उहाँले आग्रह गर्नुभयो । ‘सैनिक सत्ता वा संकटकालको कुरा गरेर हामीलाई नधम्क्याए हुन्छ’, प्रचण्ड–माधव समूहका नेता पुनले अघि भन्नुभयोे, ‘वर्षौंसम्म राजाको सैनिक सत्ता, संकटकाल भोगेका र त्यसलाई परास्त गरेका नेपाली जनता तर्सनेवाला छैनन् ।’

आफैंले मिचेको संविधानलाई ट्रयाकमा फर्काउन योगदान गरे ओलीलाई इतिहासले कहीँ न कहीँ सम्मान गर्न सक्ने उहाँले बताउनु भयो । ‘नभए जनताले बालुवाटारको झ्यालबाट फाल्छन्, समयमै यो कुरा हेक्का राख्दा राम्रो होला,’ पुनले चेतावनी दिनुभयो ।

प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई बैधता दिएको भन्दै उनले राष्ट्रपतिको पनि आलोचना गर्नुभयोे । मध्यावधि निर्वाचन घोषणा गरेपछि सरकारलाई कामचलाउ घोषणा नगर्नु पनि संविधान उल्लंघनको अर्को उदाहरण भएको नेता पुनको तर्क थियो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बैशाखमा चुनाव नहुने र वैशाखपछि ओली प्रधानमन्त्री नरहने दाबी गर्नुएको थियो ।

संसद बिघटनको बिरोधमा प्रचण्ड–माधव समूहद्धारा मंगलबार राजधानी काठमाण्डौमा आयोजित बिरोध सभामा बोल्दै आगामि वैशाखमा चुनाव नहुने र वैशाखपछि ओली प्रधानमन्त्री नरहने बताउनु भएको हो ।

You might also like