रुपन्देही र चितवनमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं,१७ पुस ।
रुपन्देही र चितवनमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

गएराति रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ बेतकुईयामा रोकिराखेको लु १ ख ३४४० नम्बरको ट्रकमा लु ४८ प १८३६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय रामु लोधको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । रुपन्देहीकै तिलोत्तमा नगरपालिका २ जानकीनगरमा गएराति कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

पैदलयात्री सुद्धोधन गाउँपालिका २ का २४ वर्षीय महेन्द्र मरासिनीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवलबाट भैरहवातर्फ जादै गरेकोे बा १९ च २०६८ नम्बरको कारले पैदल हिँडिरहेका मरासिनीलाई गएराति १ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यसैबीच, चितवनको रत्ननगर नगरपालिका ७ मैनाहामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीया कौशिला महतो रहेकी छन् ।

प्रदेश ३, ०३, ००२ प ११९१ नम्बरको मोटरसाइकल गएराति सवा १२ बजे अनियन्त्रित भइ पल्टिँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस अस्पताल भरतपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

You might also like