राष्ट्रिय सभाको हिउदे अधिवेशन शुरु

संसद विघटन गरेर प्रधानमन्त्री ओलीले देशलाई राजनीतिक दुर्घटनाको विन्दुमा पु¥याएको आरोप
काठमाडौँ,१७ पुस ।
राष्ट्रिय सभाको हिउदे अधिवेशन शुक्रबारदेखि शुरु भएको छ ।

बैठकमा कांग्रेस सांसद जितेन्द्र देवले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई राजनीतिक दुर्घटनाको विन्दुमा पु¥याएको बताउनुभयो ।

सांसद देवले देश असाध्यै जटिल अवस्थामा प्रवेश गरेको र यहाँबाट उद्धार हुन्छ कि हुँदैन भन्ने गम्भीर चिन्ता उत्पन्न भएको बताउनुभयो । ‘देशको राजनीति कुइरोको कागजस्तो भएको छ । कालो तुँवालोभित्र उडेको काग जस्तो छ । उडेको छ तर, दिग्भ्रमित छ,’ उहाँले भन्नुभयोे ।

सांसद देवले पार्टीभित्र समस्या भए त्यो पार्टीको आन्तरिक समस्या हुने, देश र संसद्को समस्या नभएको बताउनुभयो । ‘पार्टीभित्र समस्यामा पर्ने संसद् विघटन गर्ने ? देशलाई खाल्डोमा जाक्ने ? दुनियाँमा कसैले पनि सोच्न सक्दैनन्, यस्तो काम गर्दै गर्दैनन् । तर, प्रधानमन्त्रीले अधिकार नभएको काम गर्नुभयो’ देवले भन्नुभयोे ।
सत्तारुढ नेकपा राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले दलभित्रको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएको बताउनुभयो । नेता शर्माले प्रतिनिधिसभा विघटन हुनु ठीक नभएको विचार व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाको विघटन उचित हो कि होइन भन्ने छलफलको विषय भएपनि अहिलेको सन्दर्भमा प्रतिनिधिसभा विघटन हुनु सही नभएको शर्माको भनाइ थियो ।
नेकपा विभाजन सिद्धान्त र दर्शनको आधारमा नभइ राजनीतिक कारणले हुन लागेको भन्दै शर्माले दुःख व्यक्त गर्नुभयोे । राजनीतिक दल विभाजन हुँदा लोकतन्त्र र व्यवस्था कमजोर हुने शर्माको भनाइ थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शुक्रबारदेखि राष्ट्रिय सभाको बैठक सुरु भएको हो । बैठकमा नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी दलका नेताहरूले आफ्ना मन्तव्य राख्दै प्रतिनिधि सभा विघटन गरिनु दुःखद भएको बताएका थिए ।

You might also like